logo
Logo Side Banner

४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने

News LogoSita 3 हप्ता अगाडि
87 2 minutes read

दशैँ, तिहार र छठको लागि आउँदो असोज ७ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनिसकेको छ ।

आमउपभोक्ताको हितलाई ध्यानमा राख्दै अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइने छ । कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो सात रुपैयाँ छुट पाइने छ ।

सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो पाँच तथा गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायतमा प्रतिकिलो सात रुपैयाँ छुट पाइने  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीका अनुसार सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर सात र डीडीसी घ्यूमा प्रतिलिटर १० रुपैयाँ छुट पाइनेछ । यस्तै च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो १० रुपैयाँ छुट दिने तयारी छ । 

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाण्डौ उपत्यकामा तीनवटा घुम्ती पसलसहित नौ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । काठमाण्डौ उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा पनि साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउने जनाएको छ । साल्ट ट्रेडिङले नूनमा प्रतिकिलो दुई, चिनीमा प्रतिकिलो पाँच, तेलमा प्रतिलिटर सात र चिउरा, पिठो तथा मैदामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ ।

दुग्ध विकास संस्थानले यही भदौ १ गतेदेखि आउँदो कात्तिक मसान्तसम्मका लागि चाडबाड लक्षित छुट योजना सञ्चालन गरिरहेको छ । चाडपर्व लक्षित मूल्य सहुलियत पसल सञ्चालनका लागि ढुवानी र आपूर्ति सहजीकरण गर्न गृह मन्त्रालयलगायत अन्य निकायसँग समन्वय गरिएको दुग्ध विकास संस्थानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस