logo
Logo Side Banner

ज्येष्ठ नागरिकलाई कास्की जिल्ला प्रशासनमा द्रुत सेवा

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read


जिल्ला प्रशासन कार्यालयको हाताभित्र ज्येष्ठ नागरिक विश्रामकक्ष र स्वास्थ्य सहायता केन्द्रको आजदेखि सञ्चालनमा ल्याइएको छ । कार्यालयमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई सहजताका लागि विश्रामकक्षमा नै पुगेर सेवा प्रदान गर्नेगरी कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

प्रशासनमा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि दैनिक ५० देखि ६० जना ज्येष्ठ नागरिक आउने जनाइएको छ । प्रशासनले ज्येष्ठ नागरिकलाई लामो समय लाइनमा बस्नु नपर्नेगरी सेवा दिनका लागि ‘डेडिकेटेड लाइन’को व्यवस्था गरिने प्रजिअ पाण्डेले बताए ।

स्वास्थ्य सहायता केन्द्रमा स्वास्थ्यकर्मीबाट उच्च रक्तचाप जाँच, तापक्रम जाँच, बेडको सुविधा तथा आवश्यक औषधि निःशुल्क प्रदान गरिनेछ । उनका अनुसार सेवा लिन पुग्ने ज्येष्ठ नागरिकको परीक्षणसहित स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श सेवा उपलब्ध गराइनेछ । ‘हामी ज्येष्ठ नागरिकलाई विश्रामकक्षसहित डेडिकेटेड लाइनबाट द्रुत सेवा दिनेछौँ । उहाँहरूको सामान्य स्वास्थ्य जाँचको समेत व्यवस्था गरेका छौँ । ज्येष्ठ नारिकले लाइनमा नबसिकन नै सेवा पाउनुहुनेछ’, पाण्डेले भने ।

जिल्लास्थित आम नागरिक तथा ज्येष्ठ नागरिकको प्रत्यक्ष सरोकार रहने कार्यालयमा समेत ज्येष्ठ नागरिक विश्रामकक्ष स्थापना गर्ने कार्यको अनुशरण हुने विश्वास प्रमुख जिल्ला अधिकारी पाण्डेले व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस