logo
Logo Side Banner

‘बोटबिरुवा नासेर निम्त्याइएको संकट हाम्रा लागि भयावह, भावि पुस्ताको लागी गम्भीर समस्या’

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको उल्लेख गर्दै प्रकृतिमुखी जीवनशैली अपनाएर वातावरण सुधारका गतिविधि प्रर्बधन गर्न सबैमा आह्वान गरेका छन् । 
आज परेको विश्व वातावरण दिवस २०२४ को अवसरमा एक शुभकामना दिँदै राष्ट्रपति पौडेलले  विकास र वातावरण एकआपसका प्रतिद्वन्द्वी नभई परिपूरक रहेको बताएका हुन् । उनले प्लास्टिकजन्य फोहोर नै प्रमुख वातावरणीय चुनौती बन्न पुगेको समेत बताएका छन् । 

पौडेलले यस दिवसलाई सबैले आफ्नो घर वरिपरिको वातावरण सुधार गर्दै वन, जल, वनस्पति तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई संविधान प्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिनका रूपमा लिनुपर्नेमा जोड दिएका छन् । 
वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको नीति तथा कार्यक्रमबाट  वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको समेत राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् । 

यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि अव्यवस्थित र अवैज्ञानिक भौतिक पूर्वाधार निर्माण तथा सहरीकरणका नाममा वनजङ्गलको फँडानीले वातावरणलाई सबैभन्दा बढी बिगारेको बताएका छन् । उनले वनजङ्गलको फँडानी रोक्न समयमै सचेत हुन सबैसँग आग्रह पनि गरेका छन् । 
‘बोटबिरुवा नै नासेर निम्तिने सङ्कट सबैभन्दा भयावह छ । हामीले यो सङ्कट जसोतसो झेलिरहेकै छौँ तर हाम्रा भाविपिढीहरूका लागि यो थप गम्भीर हुन सक्छ ।  यो सङ्कटबाट बच्न गम्भीर, सचेत, सतर्क र सावधान हुन अति आवश्यक छ’ यादवले भनेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस