काठमाडौं महानगरपालिकाले चक्रपथको धुलो सडक विभागको गेटअगाडि लगेर थुपारिदिएको घटनाले तरंग ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको ढिलासुस्तीका कारण १५ वर्षदेखि चक्रपथ विस्तारको बहानामा महानगरवासीले धुलो खाइरहनु परेको भन्दै तुरुन्त चक्रपथ विस्तार गर्न दबाबस्वरूप महानगरले शनिबार विभागको गेटअगाडि धुलो थुपारिदिएको हो ।
फोहोर थुपारेको भिडियो राख्दै महानगर प्रमुख बालेन्द्र साहले उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेका छन्– ‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नुपरेको छ । काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुवाँ खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु, माया सम्झेर स्विकार्नु होला ।’
महानगरपालिककाले कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिदिएको घटनालाई लिएर सडक डिभिजन काठमाडौंले एक विज्ञप्ति प्रकाशित गर्दै गम्भिर आपत्ति भएका जनाएको छ । साथै महानगरले कानुनी राज्यको उपहास गरेको ठम्याई भएको उल्लेख गरेको छ ।
उक्त घटनाले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सो विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानिय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ ।’
विज्ञप्तिमा उल्लेख भए अनुसार गत शुक्रबार काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह तथा सो डिभिजनका डिभिजन प्रमुख नारायणदत्त भण्डारीबीच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएर सकारात्मक सहमति भएको भएतापनि महानगरपालिकाले फोहर फादिएकोप्रति सडक डिभिजन कार्यालयको आपत्ति रहेको डिभिजन कार्यालयका सुचना अधिकारी ई.प्रमोद खतिवडाको हस्ताक्षरमा जारी उक्त विज्ञप्तिमा भनिएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित