logo
Logo Side Banner

सरकारी अस्पतालको आँखा छलेर अन्यत्र काम गर्ने स्वास्थ्यकर्मी निगरानीमा

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालयमा समयमै हाजिर नहुने र सरकारी संस्थामा बिदा लिएर निजी तथा गैरसरकारी संस्थामा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्ने भएको छ । 

स्वास्थ्य मन्त्रालय मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीले लापरवाही गर्न थालेको, समयमै कार्यालयमा उपस्थित नहुने तथा नीजि क्लिनिकहरु चलाउने गरेको भन्ने गुनासो बढ्न थालेको भन्दै अनुगमन गरि कारबाही प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए । 
सरकारी कार्यालय र स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीमध्ये पाँचदेखि सात प्रतिशत कर्मचारी समयमा उपस्थित नहुने, नीजि क्लिनिकमा काम गर्ने गरेको पाइएको भन्दै उनले संघीय अस्पतालबाट ड्युटी रोस्टर मगाएर कारबाही प्रक्रिया अगाडि बढाउने बताए । 
उनले भने, ‘सबै पनि होइन पाँच, सात प्रतिशत कर्मचारीले यस्तो लापरवाही गर्ने गरेको पाइएको छ । हामीले संघीय अस्पतालबाट ड्युटी रोस्टर मगाएका छौं । त्यसलाई हेरेर कारवाही गर्छौं ।’

यस्ता स्वास्थ्यकर्मीलाई कस्तो कारबाही गर्नुहुन्छ भन्ने नेपाल न्युूज बैंकको प्रश्नमा उनले भने, ‘स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली, २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधिनमा हुने र बिदा अधिकारको कुरा नभएर सहुलियत मात्रै भएको स्पष्ट कानुनी व्यवस्था रहेको छ । सोहि ऐन र निवमावलीमा टेकेर कारबाही गर्छौं, छुट्टै कानूनको आवश्यक्ता नै पर्दैन ।’
सरकारी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले त्यस्तो कार्य गरेकोमा उनीहरुलाई सचेत गराउनेदेखि बरखास्त गर्नेसम्मका कारबाही हुने बुढाथोकीको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस