logo
Logo Side Banner

दोहोरी साँझमा गाउने कलाकारहरुको साथमा सांस्कृतिक अभियान

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

मनोरञ्जन तथा सत्कार क्षेत्र (डान्सबार, दोहोरी साँझ, क्याबिन रेस्टुरेण्ट, खाजाघर तथा स्पारमसाज पार्लर)मा रहेका श्रमिकका मुद्दाहरुलाई समेटनेगरी सांस्कृतिक अभियान सुरु भएको छ । 
दोहोरी साँझमा गाउने कलाकारहरुलाई लिएर त्यही क्षेत्रका विभिन्न विषयवस्तुमाथि गीतहरु गाएर युट्युबमार्फत् सार्वजनिक गरिने महिलाका निम्ति महिला मञ्च नेपाल (वफोवन)की संस्थापक तथा कार्यकारी निर्देशक सिर्जना पुनले जानकारी दिइन्।

उक्त संस्थानको युट्युब वफोवनमार्फत् ती गीतहरु प्रस्तुत गरिनेछन्। केही दिनअघि ‘मनोरञ्जन क्षेत्रको परिचय’ पहिलो शृंखला सार्वजनिक भएको छ । जहाँ गायक÷गायिकाहरु श्रमका विभिन्न क्षेत्रको प्रतिनिधिका रुपमा विभाजित भएका छन् र आफूले गर्ने कामका बारेमा जानकारी दिएका छन् ।
मनोरञ्जन तथा सत्कार क्षेत्रको श्रमप्रति आमजनको दृष्टिकोण बदल्ने विभिन्न अभियानका साथै उनीहरुका हकहितका विषयमा आवाज उठाउने क्रममा सांस्कृतिक अभियान अघि बढाइएको कार्यकारी निर्देशक पुनले बताइन् ।

उनले भनिन्, ‘म त्यही क्षेत्रबाट आएको हुँ । त्यसैले त्यहाँका पीडा थाहा छन्। त्यस क्षेत्रमा श्रमको पहिचान, सम्मान र सुरक्षाका लागि हामीले काम गर्ने क्रममा गीतसंगीतको माध्यम अपनाएका हौं । जसबाट हाम्रा सवाल सवैमाझ पुग्ने विश्वास लिएका छौं ।’

महिलाको निम्ति महिला मञ्च नेपाल अन्तर्गत ‘साँस्कृतिक अभियान समूह’ समेत रहेको छ । उक्त समूहमा मनोरञ्जन क्षेत्रमा कार्यरत कलाकार साथीहरु हुनुहुन्छ । हाम्रै संस्थामा आबद्ध कलाकार साथीहरुका सिर्जना र स्वरमार्फत् मनोरञ्जन क्षेत्रलाई हिंसा, शोषणरहित, सुरक्षित, सम्मानित र व्यवस्थित कार्यस्थलको रुपमा स्थापित गर्न र श्रमिकको मान्यता पहिचान स्थापित गर्नका लागि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण र समाजले मनोरञ्जन क्षेत्रलाई हेर्ने दृष्टिकोणलाई सकारात्मक परिवर्तन गर्न हामीले ‘सांस्कृतिक अभियान’लाई निरन्तरता दिएका हौं । श्रमको पहिचान, सुरक्षा र सम्मानका लागि साँस्कृतिक अभियान मार्फत् असमान सोच रुपान्तरणको आह्वान’ हाम्रो मुख्य ध्येय रहेको छ ।

अभियानको सुरुवात प्रत्यक्ष लोक तथा दोहोरी गीतबाट सुरु गरिएको छ । क्रमशः अन्य भाषा र भाकामा समेत हामीले गीतहरु प्रस्तुत जाने बताइएको छ ।  गीतका विषयहरु मानव अधिकार, महिला अधिकार, असमानता, सवै प्रकारका विभेद, श्रम शोषण तथा अधिकार, उनीहरुको  स्वास्थ्य तथा  शिक्षाको हकलगायत हुनेछन् ।

कलाकारहरु श्याम राना,  तारा थापा, देवी आले, रत्न श्रेष्ठ, शर्मिला वीसी, टेकराज भण्डारी, यशोदा केसी, अञ्जान कार्की, टंक रेउले, दिलु बिसी, देवीकुमारी बस्नेत, सागर बिसी, शान्ति घर्ती, सिमा थापा, रमिला बुढामगर लगायतले गाउनेछन । विभिन्न भागमा चर्चित कलाकारहरु अतिथिका रुपमा उपस्थित भएर सांस्कृतिक अभियानमा ऐक्यबद्धता जनाउनेछन्। डिबी खड्का, सविता पोखरेल र वर्षा लुईटेलले विषयमाथि अनुसन्धान, योजना र संयोजन गर्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस