logo
Logo Side Banner

इलाम–२ मा २१ हजार मत गन्दा सुहाङलाई २६ सय मतको अग्रता

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले २६ सय मतको अग्रता बनाएका छन् । अहिलेसम्म फाकफोकथुम र चुलाचुलीको मात्रै मतगणना हुँदैछ । यसपटक ६९ हजार २८७ मत खसेको छ भने अझै ४५ हजारभन्दा बढी मतगणना गर्न बाँकी छ । 

जारी मतगणनामा केहीबेर अघि सार्वजनिक परिणामअनुसार नेम्बाङले ८ हजार ८९८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २८० मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले पनि ४ हजार ६३४ मतसहित पछ्याइरहेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बुले १ हजार ३०५ मत पाएका छन् । नेकपा एकिकृत समाजवादीका जीत बहादुर राईले २४०, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले २०९, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ५४, राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्ष्मी गुरुङले ४६, नेपाली जनता दलका रेशमबहादुर सुनारले ५२ मत पाएका छन् ।

अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा हृदयाघातले निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसबाट खड्का दोहोरिएर उम्मेदवार बनेका हुन् । 
यहाँ १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । 

प्रतिक्रिया दिनुहोस