logo
Logo Side Banner

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

News LogoSita 10 महिना अगाडि
87 2 minutes read

कास्की प्रहरीको हिरासतमा रहेका  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले पुनः म्याद थपका लागि अदालत उपस्थित गइएको हो । 

लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको  तयारीमा जुटेको छ । एकदुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । कास्कीका एसपी श्यामबाबु ओलियाले भने, ‘अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गरिरहेका छन् ।’

लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने भएको छ । 


संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएपछि सूर्यदर्शनको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा सबैभन्दा पहिले पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । उनी असोज ६ मा पक्राउ परेका हुन् । प्रहरीले उनीहरू विरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको हुनाले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्छ । जोशी पक्राउ परेको दिनबाटै अरू ४ जनाको म्याद मिलान भएको हुनाले पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गर्नुपर्ने कानुनी व्यवस्था छ ।

नेपाल प्रहरीका एक जना उच्च अधिकृतका अनुसार मुद्दाको अभियोग पत्र तयार गर्न  जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १० दिनको समय मागेको छ । ती उच्च अधिकृतले भने, ‘त्यसैले कम्तीमा ७ दिनअघि बुझाउने गरी प्रतिवेदन तयारी भइरहेको छ ।’

सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा लामिछाने, जोशी, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएकी लिला पछाई, तनहुँका राम बहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङ प्रहरीको हिरासतमा छन् । पक्राउ परेका भन्दा बाहेक कम्तीमा ३५ जनालाई फरार प्रतिवादी कायम गर्न प्रहरीले राय दिने भएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘पक्राउ परेका ५ जनाभन्दा बाहेक ३५ जनालाई फरार प्रतिवादी हुन्छन् ।’

सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानो पाइलाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरेको सूर्य थापा नेतृत्वको संसदीय समितिको छानबिन निष्कर्ष छ । सूर्यदर्शनबाट मात्रै गोरखा मिडियामा ५ करोड ५८ लाख ल्याएको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस