पोखरा । पोखरामा यही पुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पक्षीको गणना गरिने भएको छ । समसार, तालतलैया, नदीनालामा आश्रित जलपक्षीको अवस्था, हिउँदे आगन्तुक जलपक्षीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले पक्षी गणना गरिने भएको हो ।
पानीमा आश्रित तथा हिउँदे आगन्तुक जलपक्षीको सङ्ख्या र तिनका विभिन्न प्रजातिको विवरण पत्ता लगाई स्थानीय समुदाय र सरोकारवाला निकायको सहभागितामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जलपक्षी गणना गर्न लागिएको पोखरा उपत्यका क्षेत्रीय संयोजक एवम् पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा सन् १९८७ देखि जलपक्षी गणना शुरु गरिएको हो ।
सन् २००४ देखि पोखरा उपत्यकामा टाइगर माउन्टेन पोखरा लजको अगुवाइमा जलपक्षी गणना गरिँदै आइएकोमा सन् २००७ देखि पथप्रर्दशकको सहभागितामा नेपाल पक्षी संरक्षण सङ्घअन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका विद्यार्थी र सन् २०१५ देखि पोखरा पक्षी समाजको प्रत्यक्ष संलग्नता गणना थालिएको घिमिरेले बताउनुभयो ।
उपत्यकाले जलपक्षी गणनाको २० औँ वर्षमा प्रवेश गरेको भन्दै पछिल्लो समय जलपक्षीको सङ्ख्या तथा प्रजातिमा धेरै हेरफेर रहेको लजका नेचुरलिस्ट झलक चौधरीले बताउनुभयो । उहाँका अनुसार विश्वमै दुर्लभ रहेका ४२ प्रजातिका पक्षीमध्ये १३ जलपक्षी रहेका छन् ।
पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ५० भन्दा बढी ठाउँमा जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलपक्षीको गणना गरिने एसियन वाटरफल सेन्ससका नेपाल प्रतिनिधि डा। हेमसागर बरालले जानकारी दिनुभयो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित