म्याग्दीकाे बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइएको छ ।
दुई सय वर्षअघि बेनीमा बस्ती बसेदेखि नै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म एक महिनाको अवधिमा विभिन्न मौलिक नाच देखाइएको हो । बेनीको सङ्गमचोकमा सोमवार बेलुका बर्खेनाचको समापन गरिएको हो ।
बर्खेनाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित बर्खेनाच समापन गरिएको नेपाल भाषा मंकाखलः म्याग्दीका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
'लाखे र श्रीकृष्णको लडाइँ झल्काउने नाच अवलोकन गर्न सङ्गमचोकमा बजारवासीको भिड लागेको थियो', उहाँले भन्नुभयो, 'यस वर्ष बर्खेनाचअन्तर्गत लाखे, हनुमान, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइएको थियो ।'
बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसलाई मारेपछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । जनैपूर्णिमा र त्यसको भोलिपल्ट दुई दिन वर्षभरि दिवङ्गत भएका व्यक्तिहरूको सम्झनामा नागनागिनी नाच देखाइएको थियो ।
मंका खलः अन्तर्गतको ल्याम्ह पुचःको अगुवाइ र मैजु खलःको व्यवस्थापनमा बर्खेनाच देखाइएको हो । परम्परागतरूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको छ । यस वर्षको बर्खेनाचमा करिब दश वर्षपछि धानको बाला नाच देखाइएको हो ।
मंका खलःले दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिएको छ । विभिन्न नाचमा ४० जनासम्म कलाकार सहभागी हुने गर्छन् । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा बेनीको बर्खेनाचलाई जीवन्त राखिएको नेपाल भाषा मंका खलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित