खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिनुभयो । नागरिकका लागि राखिएको चामल सकिएको उहाँले बताउनुभयो । विपद् र कारागारका लागि मात्र चामल राखिएको र नागरिकलाई बिक्री गर्ने चामल सकिएकाले चामल बिक्री बन्द गरिएको शाखाले सूचना जारी गरेको छ ।
मार्तडीमा रहेकाे डिपोमा चामल सकिएपछि सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ । डिपोमा रहेको मौज्दात चामल सकिएको हुँदा ठेक्का प्रक्रियाबाट ढुवानी नहुञ्जेलसम्म खाद्यान्न बिक्री वितरण कार्य बन्द गरिएको शाखा प्रमुख ओझाले बताउनुभयो ।
पूर्वी उत्तरी भेगको कोल्टीमा रहेकाे डिपोमा भने दुई सय क्विन्टल चामल मौज्दात छ । कोल्टी डिपोमा रहेको चामल एक हप्ताका लागि मात्र पुग्ने भएकाले एक हप्तापछि ताला लगाएर बिक्री बन्द गरिने सार्वजनिक सूचना टाँस गर्नुपर्ने अवस्था आएको प्रमुख ओझाको भनाइ छ ।
'ठेक्काका लागि बोलपत्र आह्वान गरेका छौँ । त्यसपछिको प्रक्रिया चलिरहेको छ । यस्तै ढिलासुस्ती भए दशैँसम्म पनि चामल नआउन सक्छ', ओझाले भन्नुभयो ।
बाजुराकाे हिमाली गाउँपालिकामा खाद्यान्न सङ्कट भएको पाँच महिनाभन्दा बढी भएको छ । गाउँपालिकाको कवाडीमा रहेकाे अस्थायी डिपोमा गएकाे आर्थिक वर्षको चामल जेठमा सकिएपछि पाँच महिनादेखि खाद्यान्न सङ्कट भएको स्थानीय धनलाल रोकायाले बताउनुभएको छ ।
ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २ र ३ को बिच्छ्याँ, गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ४ र ५ को रुगीनमा खाद्यान्न सङ्कट भएको हो ।
यस्तै, हुम्लाको ताजाकोट गाउँपालिकामा पनि खाद्यान्न सङ्कट भएको छ । हिमाली गाउँपालिका–१ बिच्छयाँका धर्मलाल रोकाया दुुई दिन लगाएर कवाडी अस्थायी डिपोमा चामल किन्न आएका भए पनि डिपोमा चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फर्किनुभएको छ ।
आव २०७९/८० मा कवाडी डिपोमा तीन हजार पाँच सय क्विन्टल चामल थियो । कवाडी डिपोको कोटाको चामल जेठ महिनामै सकिएपछि डिपोमा चामल मौज्दात नरहेको शाखाले जनाएको छ । आव २०८०/८१ मा कवाडी डिपोका लागि दुई हजार पाँच सय क्विन्टल चामलको कोटा रहेको छ । चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुङ्गो छैन । कवाडी डिपोमा चामल भए मोटो चामल प्रतिकिलो ५२ रुपैयाँमा बिक्री हुने गरेको थियो । डिपोमा चामल अभाव भएपछि नागरिकले बजारमा प्रतिकिलो ८० रुपैयाँ हालेर चामल किन्ने गरेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित