चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ नभएपछि बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई वटा बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासीको अमलटारी क्षेत्रमा बस्तीमा बाघ आउन थालेपछि नियन्त्रणमा लिइएको हो । एउटा बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्को बाघले गाईभैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको हो ।
मङ्गलबार नियन्त्रणमा लिएर कसरा ल्याइएको थियो । अन्दाजी १० वर्षको भाले बाघलाई बुधबार साँझ बर्दिया पठाइएको उनले जानकारी दिए । यो बाघ केही समय यता बस्ती छिरेर घरपालुवा जनावर खाँदै आएको थियो । राख्ने ठाउँ नभएकै कारण बर्दिया पठाइएको हो ।
अर्को अन्दाजी सात महिनाको पोथी बाघलाई कसरामा रहेको काठको खोरमा राखिएको छ । कच्ची खोर भएकाले ठूलो बाघ राख्न खोर उपयुक्त छैन । सानो भएकाले तत्कालका लागि सो खोरमा राखिएको उनले जानकारी दिए ।
यो बाघ केही समय यतादेखि नवलपरासीको अमलटारीस्थित बस्ती क्षेत्रमा आएर बस्ने गरेको थियो । हाल कसरामा सानोसहित चार वटा बाघ रहेका छन् । तीमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो । सो भाले बाघ अन्दाजी १० वर्षको छ । गत वर्ष चितवनकै माडीमा मानिसलाई आक्रमण गरी मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ । अर्को देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।
तीनवटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ । सौराहामा खोरमा दुई वटा बाघ रहेका छन् । तीमध्ये एउटा गत साउनमा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ । उक्त भाले बाघ अन्दाजी चार वर्षको हो । अर्को गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित