logo
Logo Side Banner

धादिङमा दुर्घटना कम गर्न विद्यार्थीलाई सडकमै ट्राफिक सचेतना गराइँदै

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

 राजमार्ग क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले ट्राफिक सचेतना अभियान थालेको छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटना कम गर्न विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउन थालिएको हो । 

साना विद्यार्थीले अकालमै ज्यान गुमाउन नपरोस्, कुनै पनि दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले सैद्धान्तिक र व्यावहारिक ज्ञान सिकाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताउनुभयो । विशेष गरी विद्यार्थीलाई दैनिक जीवनमा काम लाग्ने कुराहरु सिकाइएको उहाँ बताउनुहुन्छ ।

'राजमार्ग क्षेत्रमा हुने दुर्घटना जोखिमको समूहभित्र विद्यार्थी पनि पर्छन् । विगतको तथ्याङ्क हेर्दा पनि सडक पार गर्नेबेला ध्यान नपुगेकै कारण पनि सानासाना विद्यार्थीले ज्यान गुमाउनु परेको देखिन्छ', प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो, 'सडक कसरी पार गर्ने, कुन साइडबाट हिँड्ने, राजमार्गको सडक पार गर्दा के-के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा सडकमै उभिएर सैद्धान्तिक र व्यावहारिक रुपमा ज्ञान दिइएको हो ।'

विद्यालय जाने र विद्यालयबाट फर्किने समयमा जेब्राक्रसिङमै केहीबेर विद्यार्थी रोकेर ट्राफिक नियम पालनासँगै सडक पार गर्दा ध्यान दिनुपर्ने कुरा सिकाउने गरिएको छ । अभियानकै रुपमा थालिएको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत अहिले गजुरी बजार आसपासका विद्यार्थीलाई सिकाइएको छ । अघिल्लो वर्ष पनि गजुरी बजारमै एक जना विद्यार्थीले सडक पार गर्ने क्रममा ज्यान गुमाउनु परेको कुरालाई समेत ध्यानमा राखेर कार्यक्रम शुरु गरिएको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा हरेक वर्ष गजुरी, गल्छी, मलेखुलगायतका क्षेत्रमा मानवीय क्षति हुने गरेको छ । ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, गाडीको प्रयोग गर्ने तरिका र सडक पार गर्दा दायाँबायाँ ध्यान दिनुपर्ने कुराको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस