logo
Logo Side Banner

जलवायु परिवर्तनको असर नेपालका महिलामा बढी : डा राणा

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

जर्मन बाच क्लाइमेट रिस्क इन्डेक्स २०२० का अनुसार सन् १९९९ देखि २०१८ सम्म जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी असर पार्ने मुलुकको सूचीमा नेपाल नवौँ स्थानमा रहेको उहाँको भनाइ छ ।

नेपाल सरकार जलवायु तथा मौसम विज्ञान विभागका अनुसार नेपालको तापक्रम सन् १९७१ देखि २०१४ सम्म वार्षिक औसत शून्य दशमलव ०५६ डिग्री सेल्सियसले बढेको छ । सन् १९३५ देखि १९९१ को अवधिमा १५ वटा हिमताल विस्फोट भएका छन् भने हालसम्म २१ वटा हिमताललाई जोखिमको सूचीमा राखिएको छ ।

सन् २०१८ मा विभिन्न स्थानमा गएका पहिराका कारण करिब रु ७० अर्ब बराबरको क्षति हुनुका साथै हजारौँको घर, खेतीयोग्य जमिन र सडकमा क्षति पुगेको छ । वैज्ञानिकहरूले समेत बढ्दो तापक्रमले हिमाली क्षेत्रमा मलेरिया, डेङ्गेलगायतका रोगको जोखिम बढेको उहाँको भनाइ छ ।

लैङ्गिकरुपमा पनि जलवायु परिवर्तनको प्रभाव र विपद् फरक तरिकाले पार्ने गरेको दृष्टान्त पेस गर्दै उहाँले जलवायु परिवर्तनले हाल भइरहेको लैङ्गिक असमानतालाई अझ बढवा दिएको र गरिबी, जातीय विभेद, घरबार तथा राज्यविहीन भएका तथा अपाङ्गता भएकाहरूलाई अझ बढी प्रभाव पार्ने गरेको बताउनुभयो । जलवायु परिवर्तनको नकारात्मक असरका कारण नेपालका महिला र युवतीको जोखिम बढ्ने उहाँको भनाइ छ । 

सन् २०१५ मा नेपाल सरकारले ‘नेशनल एडप्सन प्रोग्राम अफ एक्सन’ मार्फत अत्यावश्यक र तत्कालीन कामको पहिचान गरेको थियो । यसमा कृषि, जल, वनको एकीकृत व्यवस्थापनमार्फत समुदायमा आधारित अनुकूलन र जैविक विविधता प्रवर्द्धन गर्ने, असुरक्षित समुदायको क्षमता अभिवृद्धि, कृषि क्षेत्रको विकास, समुदायमा आधारित विपद् व्यवस्थापन संरचना निर्माणको आवश्यकता पहिचान गरेको थियो ।

सो अवसरमा सांसद राणाले ग्रामीण क्षेत्रमा गैर कृषिजन्य रोजगारी अपर्याप्तताले महिलाहरूको क्षमता र आयस्रोतको विविधतामा असर पारेको उल्लेख गर्नुभयो ।  “श्रम बजारमा विद्यमान लैङ्गिक विभेदका कारण कृषि र गैर कृषि क्षेत्रमा कम पारिश्रमिकमै काम गर्नुपर्ने अवस्था अझै पनि छ”, उहाँले भन्नुभयो, “नेपालको संविधानमै महिलालाई राजनीति र आर्थिक रूपमा समान अधिकारको सुनिश्चितता गरे पनि सामाजिक र प्रशासनिक क्षेत्रमा भने अझै देखिने गरी परिवर्तन हुन सकेको छैन ।”

नेपालले विकासका क्षेत्रमा प्रतिबद्धता, सन्धि तथा सम्झौतामा उल्लेख लक्ष्य हासिल गर्नका लागि लैङ्गिक संवेदनशीलता सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । हाल नेपालको बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या २८ दशमलव छ प्रतिशत रहेको तथा ठुलो सङ्ख्या कृषिमा आश्रित रहेकाले जलवायु परिवर्तनको असर ठुलो देखिएको उहाँको भनाइ छ । जलवायु परिवर्तनले कृषि, वन तथा पशुपालनका क्षेत्रका साथै प्राकृतिक स्रोतमा ठुलो असर पारेको भन्दै खानेपानी र सिँचाइको स्रोत प्रभावित भएको उहाँले बताउनुभयो । साथै जलविद्युतको अवसर प्राप्त र ऊर्जा सङ्कट समाधानमा पनि जलवायु परिवर्तनले बाधा उत्पन्न गरेको उहाँको भनाइ छ ।

हाल नेपालले विश्वको जलवायु परिवर्तनमा एक प्रतिशतको योगदान दिएको छ । साथै नेपालले ४० प्रतिशत वनजङ्गल जोगाउनका लागि प्रतिबद्धता समेत जनाएको छ । यद्यपि, नेपालका मानिसमा जलवायु परिवर्तनको नकारात्मक असर भने ठुलो रहेको भन्दै ध्यानाकर्षण समेत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस