हिमालय एअरलाइन्सले काठमाण्डाैदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान शुरु गरेको छ । एअरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान शुरु गरेको हो ।
दुई देशबीच पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डाैबाट छिङदाओमा सिधा उडान सञ्चालन गरिएको एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कम्पनीले चीनका कम्तीमा १० गन्तव्यमा उडान गर्ने लक्ष्य रहेको जनाउँदै १० लाख पर्यटक भित्र्याउने बताउनुभयो ।
'हिमालय एअरलाइन्सकाे उडान पर्यटकीय दृष्टिकोणले हेरिनुपर्छ भन्ने लाग्छ । हाम्रो आठ वर्षे हवाई यात्राकाबीच चीनसँगको सम्बन्ध प्रगाढ तुल्याउँदै बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको छ', उपाध्यक्ष श्रेष्ठले भन्नुभयो,'अहिलेसम्म जति पनि उडान भए नयाँ गन्तव्य विस्तार गरेर पर्यटन प्रवर्द्धनमा प्रयास गरिरहेका छौँ ।'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छिङदाओको पहिलो उद्घाटन उडानमा रहेका यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ हिमालय एअरलाइन्सका अध्यक्ष झो एनयोङले स्वागत गर्नुभएको थियो ।
उद्घाटन उडानका अवसरमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री किराँती चीनको सांस्कृतिक एवं पर्यटकीय सहर छिङदाओमा हिमालयले पहिलो पर्यटक उडान भरेर पर्यटनका लागि महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।
'हिमालय एअरलाइन्सले काठमाण्डाै–छिङदाओ–काठमाण्डाै उडान सेवाको शुरुवात गरेकोमा अत्यन्तै हर्षित भएको छु । यस प्रकारको सेवा नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण हो', उहाँले भन्नुभयो,'छिङदाओमा चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक सहर भएकाले दुई देशबीच पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।'
पर्यटनमन्त्री किराँतीले दुई देशबीचको पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस उडानले त्यसतर्फ निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।'यस रुटबाट हिमालय एअरलाइन्स्ले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु', मन्त्री किराँतीले भन्नुभयो,'यसै अवसरमा म छिङदाओमावासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु ।'
पर्यटनमन्त्री किराँतीले चिनियाँ र नेपाली संस्कृति मिल्दोजुल्दो रहेकाले नेपालमा चिनियाँ नागरिक धेरै भित्र्याउन सके पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने बताउनुभएको थियो । चीनका विभिन्न गन्तव्यबाट नेपालमा उडान गर्न उहाँले आग्रह गर्दै त्यसका लागि सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको जनाउनुभयो ।
राजदूत सोङले काठमाण्डाै–छिङदाओ–काठमाण्डाै उडानको आरम्भ हुनु भनेको नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको बताउनुभयो । उहाँले चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । 'यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ र नेपाललाई भूपरिवेष्ठितबाट भू–जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पुर्याउनेछ', राजदूत सोङले भन्नुभयो,'यसले हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्दै दुई देशबीचको मित्रता र सहयोगमा महत्त्वपूर्ण योगदान पुर्याउने छ ।'
एअरलाइन्सका अध्यक्ष एनयोङले भन्नुभयो,'काठमाण्डाै–छिङदाओ–काठमाण्डाै उडानको शुरुवात हुनु भनेको हिमालय एअरलाइन्सका लागि महत्त्वपूर्ण उपलब्धि हो । छिङदाओ चीनको महत्त्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो जसले एसियालाई युरोपसँग जोड्छ । यसले दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौंँ ।'
यस उडानमार्फत् दुवै देशले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ । छिङदाओबाट काठमाण्डाै आउने सिधा उडान छैन । यो उडान चिनियाँ पर्यटकका लागि लक्षित छ ।
हप्ताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आउँदाे दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । हिमालय एअरलाइन्सले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित