logo
Logo Side Banner

एमाले नयाँ संकल्पका साथ अगाडि बढ्छ : ईश्वर पोखरेल

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५औँ सचिवालय बैठकपछि एमाले नयाँ संकल्पका साथ अगाडि बढ्ने बताएका छन्।

उनले भने, “एमाले अहिले नेपालको राजनीतिको जुन स्थानमा छ, त्यसको जग र आधारविन्दु चौथो महाधिवेशन हो। त्यही महाधिवेशनबाट जननेता मदन भण्डारी र उहाँले अगाडि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तको जन्मभएको थियो।”

सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा एमालेको सचिवालय बैठक हुँदै छ। सो स्थानमा विसं २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भएको तत्कालीन नेकपा ९माले० को चौँथो महाधिवेशनस्थलमा आजदेखि एमालेको सचिवालय बैठक बस्न लागेको हो।

सोही बैठकमा सहभागी हुन त्यहाँ जानुअघि जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “३४ वर्षपछि हामी सोही ऐतिहासिक स्थानमा फर्किएका छौँ, पक्कै पनि फेरि केही ऐतिहासिक निर्णय गर्दै एमालेलाई नयाँ उचाइमा पु¥याउने गरी हामी अगाडि बढ्ने छौँ। अहिलेको राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीले खेलिरहेको भूमिकालाई थप प्रभावकारी बनाउन यो बैठक ऐतिहासिक महत्वको हुनेछ।”

उनले आफ्नो पार्टीलाई नेपालको राजनीतिमा स्थापित गराउन विष्णुपुरकट्टी सर्रेअम्बास बैठकले महत्वपूर्ण भूमिका निर्वाहको बताए। वरिष्ठ उपाध्यक्ष पोख्रेलले पार्टी महासचिवमा जननेता भण्डारीलाई निर्वाचित गरी एमालेलाई नेपालको महत्वपूर्ण राजनीतिक शक्तिका रुपमा स्थापित गराउन भूमिका खेलेको स्थानबाट अर्को ऐतिहासिक निर्णय गरिने विश्वास व्यक्त गरे।

एक अर्को प्रसंगमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताए। उनले नेकपा एमालेको अडानपछि सरकार सुनकाण्डको विस्तृत अध्ययनका लागि उच्चस्तरीय आयोग बनाउन तयार भएको जनाउँदै सो आयोगमार्फत सत्यतथ्य छानबिन गर्न पार्टीले सम्पूर्णरुपमा सहयोग गर्ने जानकारी दिए। 

सचिवालय बैठकमा सहभागी हुन उनीसँगै उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा,  विष्णु पौडेल, सुवाशचन्द्र नेम्वाङ, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु लेखराज भट्ट, रघुवीर महासेठलगायत नेताहरु त्यहाँ प्रस्थान भएका छन्।

आज बिहान बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी काठमाडौँ फर्किएपछि उनीहरू पुनः अर्को जहाजबाट जनकपुर आइपुगेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य केही नेता भने विराटनगर हुँदै सिरहा पुग्ने कार्यक्रम छ।

एमालेको ‘हाइकमाण्ड’ का रुपमा रहेको १९ सदस्यीय सचिवालयमा हाल १८ रहेका छन्। सचिवालय सदस्य एवं पार्टी सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अहिले निलम्बनमा छन्।

यसअघि यही भदौ ९ गतेदेखि बस्ने भनिएको सचिवालय बैठक निरन्तरको वर्षापछि स्थगित भएको थियो।
 

प्रतिक्रिया दिनुहोस