logo
Logo Side Banner

पाटन विमानस्थलमा जहाज बस्दैन बरु टिकटक बन्छ

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

बैतडी – बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा प्रयोग गर्नबाट वञ्चित हुँदै आएका हुन्  । 

प्रत्येक बिहीवार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एअरले २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट  कुनै उडान हुन सकेको छैन । यात्रु अभावका कारण उडान भर्न नसकिने समिट एअरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यात्रु अभावकै कारण यहाँको हवाई सेवा बन्द भएको हो । भाडा महँगो भएकै कारण यात्रु पाउन मुस्किल छ । भाडा नघट्दासम्म उडान हुने सम्भावना कम छ ।’

पाटन–धनगढी १७ मिनेटको हवाई दूरीका लागि शुरुमा तीन हजार सात सय रुपैयाँमा हवाई उडान हुने गरेको थियो । पछिल्लो समय भने बढेर पाँच हजार रुपैयाँ पुगेको थियो ।  

हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवर्धन र व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनुपरेको स्थानीयवासी दिनेश जोशीले बताउनुभयो । 

‘हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई  समस्यामा हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘नियमित उडानले आर्थिक विकासको अपेक्षा रहे पनि डेढ वर्षदेखि विमानस्थलमा जहाज आएको छैन । नियमित हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’ 

करोडौँका संरचना प्रयोगविहीन

डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै १६ करोड रुपैयाँ बराबरका संरचनाहरू प्रयोगविहीन बनेका छन् । तीन वर्षअघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयवासी डेढ वर्षयता पाटन विमानस्थलमा जहाज नआउँदा संचरनाहरू प्रयोगविहीन बनेका हन् ।

तीन वर्षअघि ११ करोड रुपैयाँ खर्च गरेर २० मिटर चौडा र पाँच सय ८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो । त्यसपछि झन्डै पाँच करोड रुपैयाँ खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ । विमानस्थल सञ्चालनमा आएमा बैतडीसँगै दार्चुलाका नागरिकले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको पाटनका अर्का स्थानीयवासी लक्ष्मीदत्त पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, ‘थुप्रै पर्यटनको सम्भावना रहेको यस क्षेत्रमा हवाई सेवा सञ्चालनले यहाँको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । त्यसका लागि चाँडोभन्दा चाँडो यहाँ हवाई सेवा सञ्चालन गर्नुपर्छ ।’ 

नियमित उडान नहुने र भाडा पनि महँगो भएकाले यात्रु पाउन मुस्किल हुने गरेको सेवाग्राहीको भनाइ थियो । भाडा समायोजन गरी यात्रुको सहजताका लागि नियमित उडान भर्नुपर्ने अर्का स्थानीय जयराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भाडा समायोजन गरेर नियमित हवाई सेवा सञ्चालन गर्न आवश्यक छ । भाडा समायोजन गरे यात्रु पनि पाइन्छन् ।’  

विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको सदुपयोग नहुनाका साथै नागरिकले सेवासमेत पाउन सकेका छैनन् । नियमित हवाई उडान सेवा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको पाटन नगरपालिकाका मेयर गौरीसिंह रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नियमित हवाई सेवा सञ्चालन नहुँदा समस्या छ । नगरपालिकाबाट यसका लागि पहल भइरहेको छ ।’
 

प्रतिक्रिया दिनुहोस