logo
Logo Side Banner

रुकुम पश्चिम : अस्थायी आवास निर्माणका लागि आठबिसकोटका चार हजार जनाले पाए पहिलो किस्ता

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

गएको कात्तिक १७ गतेराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । आठबिसकोटमा सात हजार लाभग्राही रहेका छन् । 

लाभग्राहीको खातामा २५ हजार रुपैयाँका दरले पहिलो किस्ताबापतको रकम जम्मा भएको छ । अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरले लाभग्राहीलाई १० करोड ७० लाख ५० हजार रुपैयाँ खातामा पठाइएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट भने सात हजार लाभग्राहीका लागि पहिलो किस्ताबापत १७ करोड ५० लाख रुपैयाँ प्राप्त भएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको बाँकी रकम पनि  लाभग्राहीको बैंकमा खाता सञ्चालन हुने बित्तिकै पठाइने शाहले जानकारी दिनुभयो ।

नगरपालिकामा अस्थायी आवास निर्माण गर्न नौ हजार नौ सय ६२ लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्ला विपद् व्यस्थापन कोषबाट पहिलो किस्ताबापत अझै दुई हजार नौ सय ६२ लाभग्राहीको लागि रकम आउन बाँकी रहेको प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय जोखिम न्यूनीकरण कोषमा प्राप्त भएको रकम बैंक खाता सञ्चालन भएका लाभग्राहीलाई धमाधम रकम पठाउने काम भइरहेको नगरपालिकाले जनाएको छ । अहिलेसम्म नगरपालिकामा दुई हजार दुई सय ४० अस्थायी आवास निर्माण सम्पन्न भइसकेको र बाँकी तिन हजार छ सय ९० अस्थायी आवास निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस