भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ । यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेका छन् ।
शङ्कास्पद कागजातसहित गएको असोजदेखि नै प्रहरीले अनुसन्धान थालेको थियो । सो क्रममा एक हजार पाँच सय १२ जनाका कागजात अध्ययन गर्दा त्यसमध्ये दुई सय ४६ कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलगायतका कागजात नक्कली देखिएको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
उक्त कागजात बनाउने व्यक्तिको पहिचान गर्ने र नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाइने रहेछ, भन्ने विषयमा गहिरो अनुसन्धान गर्दा सबै मिलेमतोमा काम हुने गरेकोसमेत पाइएको छ । त्यसरी अनुसन्धानका क्रममा सरकारी कर्मचारीसहित, एजेन्ट, कन्सलटेन्सी, ट्राभल एजेन्सीहरुले एयरलाइन्सलाई प्रतिव्यक्ति रु १० देखि १५ हजार र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति रु ४० देखि ५५ हजार दिएर मिलेमतोमा मिलाइ पठाउने देखिएको पाइएको पनि उनले बताए ।
सोही आधारमा मिलेमतोमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीसहित ३५ जनाभन्दा बढीलाई विभिन्न मितिमा पक्राउ गरी सङ्गठित अपराध, लिखतसम्बन्धी कसुरसमेतका अपराधमा आवश्यक कारबाही थालिएको छ । सोही अध्ययनका आधारमा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीसँग मिलेमतोमा नक्कली कागजातका आधारमा विदेश पठाउने र विदेश पुगेपछि महिलालाई घरेलु कामदारका रुपमा लगाइने र शोषणसमेत हुने तथा पुरुषलेसमेत तोकिएको काम नपाई जोखिमपूर्ण काममा लागाइने गरेको पाइएको छ ।
त्यसरी गएकालाई पछि स्वदेशमा फर्काउनसमेत कठिनाइ हुने गरेको प्रहरीको निष्कर्ष छ । अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न भएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालाई पक्राउ गरी अनुसन्धान गर्दा उनले यसरी मिलेमतोमा तीन सय जना पठाएको पाइएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित