प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको ८० प्रतिशत सेयर बिक्रीप्रति आशंका व्यक्त गरेको छ ।
समितिले एनसेलको सेयर बिक्रीमा कर छलि भएको आशंका गर्दै आइतबार आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । एनसेलमा रहेको आजियटा समूहको सेयर खरिद बिक्री वा स्वामित्व हस्तान्तरण भएको सम्बन्धमा समितिले प्रश्न गरेको हो ।
समितिले आफ्ना प्रारम्भिक जिज्ञासा भन्दै नौ बुँदामा नियामक निकायसँग जबाफ माग गरेको छ ।
एनसेलको शेयर खरिद बिक्री सम्बन्धी आधिकारिकता, शेयर खरिद बिक्री गर्दा नेपालको कानुनी व्यवस्था परिपाल भए नभएको भन्दै समितिले पत्रमार्फत प्रश्न गरेको हो ।
आजियाटाले दोहोरो कर, नियमनमा अनिश्चितता र नेपालमा वैदेशिक लगानीलाई संरक्षण गर्ने वातावरण नभएको पनि समितिले जिकिर गर्दै सोधेको छ, ‘एनसेलको सेयर बिक्रीले नेपाललाई पर्न सक्ने प्रतिकूल प्रभाव के हुन् ? त्यहाँको धारणा के हो ?’
सेयर धनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान पूरा नगरेको समितिको ठहर छ ।
गत हप्ता मात्र एनसेलमा रहेको आफ्नो स्वामित्वको शेयर सस्तैमा सल्टाएर मलेसियाको टेलिकम कम्पनी आजिआटा नेपालबाट बाहिरिएको थियो ।
आजिआटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेर नेपालबाट बाहिरिएको थियो ।
आजिआटा कम्पनीले सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलरमा खरिद गरेको एनसेलको सेयर ५ करोड अमेरिकी डलरमा बेचेको हो ।
नेपालको आर्थिक अवस्था दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको आजिआटाको भनाइ थियो । तर अर्थविद्हरुले आजियाटाको यस कदमलाइ पूँजिगत लाभकर छल्ने कपट भएको बताएका छन् ।
यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेयर खरिदबिक्री सम्बन्धी जानकारी माग गरेको थियो। जसको जबाफ आजियटाले अझै दिएको छैन।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित