जमुना बुढामगर भर्खर १९ वर्षको हुनुभयो । केही दिनअघि गएको भूकम्पका कारण उहाँले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाउनुभयो । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहनुहुन्छ । भूकम्पबाट घाइते उहाँ अहिले नेपालगञ्जमा रहेकाे भेरी अस्पतालमा उपचाररत हुनुहुन्छ ।
जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाको गएकाे शुक्रवार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको छ । भूकम्पपीडितको व्यथा एउटै एउटै जस्तो देखिन्छ । तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा धेरै गहिरो लागेको छ । उहाँले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ । बितेका चार दिनमा जमुनाको होस पूर्णरूपले फर्किएको छैन । श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उहाँ अस्पतालको शय्यामा छटपटाइरहनुभएको छ ।
जमुना एकसुरमा कहिले राम्रैसित बोल्नुहुन्छ भने कतिबेला बोल्दै बोल्नुहुन्न । निकै कम बोल्नुहुन्छ । जतिबेला पनि पेट मुसार्दै गर्भमा रहेको बच्चालाई सुम्सुम्याउनुहुन्छ । जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आउनुभएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिहुन्छ ।
'छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले उ होसमा आएपछि सुनायौँ । उसलाई थाहा छ । तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे', आमा पवित्राले भन्नुभयो, 'एक्लै–एक्लै आफैँसँग कुरा गर्छे । कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिनँ ।' भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उहाँलाई छोरीको चिन्ताले सताइरहेको छ ।
शुक्रवार राति नै भूकम्पमा परि ज्वाइँ नवीन बुढाको घरले च्यापिएर ज्यान गएकाे खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुबा भागिराम जाजरकोट पुग्नुभएको थियो । घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको बुवा भागिरामले बताउनुभयो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित