स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा रहेकाे बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे) लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ ।
जिल्लामै ‘नमुना व्यावसायिक फूलखेती’ बनाउने योजनामा रहेका स्थानीयको फूलखेती कार्यक्रमलाई गाउँपालिकाले सहयोग गरेको छ । नमुना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले तीन वर्ष पहिले दशैँ तिहारको बीचमा पाँच हजार माला उत्पादन गरेर गाउँपालिकाको कृषि शाखालाई दिएको जानकारी दिनुभयो । उहाँले पहिलो वर्ष पालिका आफैँको पूर्ण लगानी भएकाले करिब डेढ लाख रुपैयाँ बराबरको ड्रम र पाइप आफूहरुलाई दिएको बताउनुभयो ।
'यस वर्ष चार रोपनी जमिनमा तीन हजार पाँच सय बोट सयपत्री फूल लगाएका छौँ', अध्यक्ष थापाले भन्नुभयो, 'यस वर्ष हावापानी राम्रो भएकाले फूलको उत्पादन लोभलाग्दो छ, लाग्छ फूल बिक्न सक्यो भने राम्रो आम्दानी हुन्छ ।' उहाँले यस वर्षको फूलखेतीका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको र ५० प्रतिशत आफूहरुले जनश्रमदान गरेको बताउनुभयो ।
अध्यक्ष थापाले गएकाे वर्ष पनि पालिकाले ५० प्रतिशत अनुदानमा फूलखेती गरिएको बताउनुभयो । 'पोहोर साल हावापानी बिग्रियो, पानी धेरै पर्यो र फूल राम्रो उत्पादन नभएकाले दुई लाख रुपैयाँको मात्र फूल बेच्न सफल भयौँ', उहाँले भन्नुभयो, 'यस वर्ष पहिलो वर्षजस्तै खेती राम्रो छ, करिब चार लाख रुपैयाँ आम्दानी हुन्छ कि भन्ने अपेक्षा छ ।
उहाँले सयपत्री फूलखेतीलाई दिगो बनाउन सिँचाइको समस्या बाधक भएको बताउनुभयो । उहाँले गाउँपालिकाबाट प्राविधिक सहयोग उपलब्ध भए पनि सिँचाइको अभावमा व्यवसायलाई दिगो बनाउन सकिन्न कि भन्ने चिन्ता लागेको उहाँले बताउनु भयाे । उहाँले गाउँपालिकाले अनुदानलगायतका प्राविधिक सहयोगलाई यथावत राखे व्यवसाय विस्तार गर्ने सोचमा आफूहरु रहेको उल्लेख गर्नुभयो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित