परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन्।
अमेरिका चेम्बर अफ कमर्सका सदस्यसँग बुधवार वासिङ्टन डीसीमा अन्तरक्रिया गर्दै मन्त्री साउदले नेपालमा गरिएको लगानीको मुनाफा र पुँजी फिर्ता लैजाने संवैधानिक व्यवस्था गरिएकाले लगानीमैत्री वातावरण निर्माण भएको बताए।
उनले नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन र लगानी आकर्षित गन्तव्यको रूपमा विकास गर्न कुनै कसर नराख्ने बताए। ‘विश्वमा कार्बन उत्सर्जन कम गर्न स्वच्छ ऊर्जाको उपयोग बढाउँदै लैजानुपर्ने अवस्थामा नेपालमा भएको बिजुली ठूलो मात्रामा छिमेकी देशमा उपलब्ध गराउन सकिन्छ’, उनले भने, यसका लागि अमेरिकी निजी क्षेत्रले आर्थिक तथा प्राविधिक स्रोत परिचालन गरेर लाभ हासिल गर्न सक्छन् ।’
मन्त्री साउदले नेपालको सूचना प्रविधि क्षेत्र अर्को सम्भावना भएको भन्दै सक्षम जनशक्ति, भाषागत दक्षता, मानव संशाधनको सहज उपलब्धता भएकाले यसमा लगानी गर्न आग्रह गरे। ‘नेपालको आर्थिक रूपान्तरणमा सूचना प्रविधि गेम चेञ्जर हुनेमा म विश्वस्त छु’ उनले भने। सूचना प्रविधीको कम्पनी स्थापनाका लागि १००रुपैयाँमा नै कम्पनी खोलेर वैदेशिक प्रत्यक्ष लगानी गर्नसक्ने गरी सरकारले नयाँ नीति लागू गरेको उनले बताए। अरु क्षेत्रका लागि न्यूनतम दुई करोड लाग्ने मन्त्री साउदको भनाइ छ।
मन्त्री साउदले वैदशिक लगानीका लागि वाणिज्य विभागमा एकद्वार प्रणालीमार्फत सहजीकरण गर्दै आएको जानकार दिए। ‘नेपालले वैदेशिक लगानीको स्वचालित प्रणालीअनुरुप १० करोड रुपैयाँसम्मको लगानीका लागि पूर्वस्वीकृत लिन नपर्ने व्यवस्था गरेको छ’, उनले भने।
उक्त अवसरमा अमेरिकाको चेम्बर अफ कमर्सले नेपालमा स्थापना भएको अमेरिकन चेम्बर अफ कमर्स इन नेपाललाई वैधानिकता प्रदान गरेको थियो ।
एम च्याम्बरका संस्थापक अध्यक्ष अजित शाहले वैधानिकताको प्रमाणपत्र ग्रहण गर्नुभएको थियो । कार्यक्रममा अमेरिकन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका प्रमुख जोन मुर्फे र अर्का उपाध्यक्ष अतुल कश्यपले नेपालमा अमेरिकी लगानीकर्ताको चासो बढेको बताए।
कार्यक्रममा अमेरिकन चेम्बर्स अफ कमर्सका प्रतिनिधि, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीलगायत दूतावासका अधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारीको समेत उपस्थिति थियो।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित