logo
Logo Side Banner

५ वर्षमा सडक दुर्घटनामा १२ हजार ८ सय जनाकाे ज्यान गयाे

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आमनागरिकको भूमिका र जिम्मेवारीबोध गराउने उद्देश्यले काठमाण्डाै महानगरपालिका र काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा आज आइतवारदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ शुरु भएको छ ।

सवारी चालक, सडक प्रयोगकर्तालगायत आमनागरिकलाई सडक सुरक्षा र दुर्घटना न्यूनीकरण सम्बन्धमा सुसूचित गराउने, सडक अनुशासन र सुरक्षित प्रयोगका सम्बन्धमा सचेत गराउने उद्देश्यका साथ सप्ताह शुरु गरिएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । 

उपत्यका केन्द्रित बसाइसराइँ, सहरीकरणलगायतबाट भइरहेको जनसङ्ख्या वृद्धि, सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको प्रयोगको कमी, फुटपाथ अतिक्रमण, सवारी नियम तथा ट्राफिक नियमसम्बन्धी ज्ञानको कमीलगायत कारणबाट काठमाण्डाै उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल एवम् चुनौतीपूर्ण बन्दै गइरहेको छ । अहिले पनि काठमाण्डाै उपत्यकाको सवारी व्यवस्थापन ट्राफिक प्रहरीको हातको इसाराको भरमा चल्दै आइरहेको छ । 

देशभरि ६३ लाख सवारी साधन दर्ता छन् । काठमाण्डाै उपत्यकामा मात्रै झन्डै १८ लाख सवारी साधन दर्ता भएको र झन्डै १४ लाख सवारी दैनिक सडकमा गुड्ने अनुमान गरिएको छ ।

पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा देशभर १२ हजार आठ सय जनाको ज्यान गएको छ भने उपत्यकामा मात्रै हजार जनाभन्दा धेरैकाे ज्यान गएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । पाँच वर्षमा सडक दुर्घटनामा परि झन्डै ८० हजार जना घाइते भएका छन् ।

गएकाे आर्थिक वर्षमा सवारी दुर्घटनाबाट देशभर दुई हजार आठ सय ८३, आव २०७८/७९ मा दुई हजार तीन सय ७६, आव २०७७/७८ मा दुई हजार पाँच सय, आव २०७६/७७ मा दुई हजार दुई सय ५१ र आव २०७५/७६ मा दुई हजार सात सय ८९ जनाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यकामा अहिले एक हजार तीन १३ ट्राफिक दरबन्दी रहेको छ । दरबन्दीभन्दा बढी प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाइएको प्रहरीले जनाएको छ । उपत्यकामा मात्रै एक हजार आठ सय २२ ट्राफिक सवारी व्यवस्थापनमा खटिइएका छन् ।

काठमाण्डाै उपत्यकाको ट्राफिक व्यवस्थापनमा थुप्रै चुनौती आइपरेको उल्लेख गर्दै ट्राफिक प्रमुख पोखरेलले सडक संरचना व्यवस्थित हुन नसक्नु, सवारी साधन अत्यधिक वृद्धिलगायत कारणबाट सडक दुर्घटना बढेको बताउनुभयो । उपत्यकामा बर्सेनि साना ठूला गरी १० हजार बढी सडक दुर्घटना हुने गरेको छ । यी दुर्घटनामा परि झन्डै दुई सय जनाको ज्यान जाने गरेकाे छ भने आठ हजार जनाभन्दा धेरै घाइते हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस