समाचार

प्रेस युनियन तनहुँको पुरस्कार वरिष्ठ पत्रकार वाग्ले, बस्नेत र अधिकारीलाई

नेपाल प्रेस युनियन तनहुँको आठौँ अधिवेशनमा तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । युनियनद्वारा स्थापित पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत गर्ने निर्णय गरिएको प्रेस युनियन तनहुँका सचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियनको पूर्वकेन्द्रीय अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कारबाट प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत र गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिने अध्यक्ष अमरराज नहर्कीले बताउनुभयो ।

प्रेस युनियन तनहुँका अध्यक्ष नहर्कीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले वाग्ले, बस्नेत र अधिकारीलाई पुरस्कृत गर्ने निर्णय भएको सचिव अधिकारीले बताउनुभयो । पुरस्कारको राशि जनही रु १० हजार रहेको छ । यही जेठ ६ गते नेपाल प्रेस युनियन तनहुँ शाखाको आठौँ अधिवेशनका अवसरमा पुरस्कार प्रदान गरिने अध्यक्ष नहर्कीले बताउनुभयो ।

राससका कार्यकारी सम्पादक तथा प्रदेश तथा जिल्ला ब्युरो प्रमुख बस्नेत त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक तथा पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर हुनुहुन्छ । राससको प्रमुख समाचारदाता र बोर्ड सदस्य हुनुभएका बस्नेत साढे दुई दशकदेखि राससमा आबद्ध हुनुहुन्छ ।

नेपाल प्रेस इन्स्टिच्युटबाट १० महिने पत्रकारिता तालिम लिनुभएका उहाँ हाल सेफर्ड कलेज बानेश्वर काठमाडाँैमा पत्रकारिता विषय पढाउनुहुन्छ भने पूर्वाञ्चल विश्वविद्यालय कला सङ्कायअन्तर्गत आमसञ्चार तथा पत्रकारिता विषयगत समितिको सदस्यका रुपमा कार्यरत हुनुहुन्छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button