
स्याङ्जाको भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ स्थित कृषिमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।
माटोमा हुनुपर्ने तत्वका बारेमा न्यूनतम जानकारी लिन वा परीक्षण गर्न पनि पोखरा जानुपर्ने बाध्यता रहेकाले किसानलाई आफ्नै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यले माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । “अत्याधुनिक उपकरण जडान गरी स्थापना गरिएको प्रयोगशालाबाट माटोको अवस्थाकाबारेमा किसानलाई जानकारी दिने गर्छौं”, उहाँले भन्नुभयो, “आफूले बाली लगाएको माटोको अवस्थाका बारेमा किसानले जानकारी पाउने र माटोमा भएका कमी कमजोरीको उपचार गर्न सकिने भएकाले यो निक्कै उपयोगी हुने विश्वास हाम्रो छ ।”
नगरभित्रका नौ वडाको तालिका बनाएर प्रयोगशालाबाट माटो परीक्षण गर्ने तयारीमा नगरपालिका छ । डिजिटल माध्यमको अत्याधुनिक उपकरणबाट माटोमा भएको ‘पिएच’ तत्कालै र अन्य पक्षको अवस्था एक÷दुई दिनभित्रै किसानलाई जानकारी दिइने कृषि शाखा प्रमुख किसान अर्यालले बताउनुभयो ।
“माटोसम्बन्धी विभिन्न १२ वटा प्यारामिटरको परीक्षण प्रयोगशालामा हुन्छ”, उहाँले भन्नुभयो, “माटोमा भएको कमि कमजोरी जानकारीसहित उपचार विधिका बारेमा सुझाव तथा परामर्श दिने गरिएको छ ।” भिरकोटमा माटो परीक्षण प्रयोगशाला नहुँदा यहाँका किसानलाई माटोको नमुना लिएर पोखरा जानुपर्ने बाध्यता थियो । परीक्षण गर्न समय लाग्ने गरेकाले तत्कालै नतिजा नआउने र ढिलो गरी आउँदा किसान बालीनाली लगाउन समय घर्किसक्ने हैरानीमा थिए । अहिले माटो परीक्षण प्रयोगशाला भिरकोटमै सञ्चालनमा आएसँगै किसानलाई राहत मिलेको छ ।