
पाँचौं संस्करणको सृजना कप भलिवल प्रतियोगिता २०७९ आउँदो फागुन १६ देखि पोखरामा हुने भएको छ । पोखराको सृजना विकास केन्द्र र कास्की जिल्ला भलिवल संघको आयोजनामा कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता आउँदो फागुन १६ गतेदेखि १९ गतेसम्म पोखरा रगंशालामा हुने भएको हो ।
राष्ट्रिय खेल भलिवलको लोकप्रियता बढाउदै बिद्यालयमा खेलको जग (बेस) बलियो बनाई जिल्ला प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको केन्द्रका अध्यक्ष कृष्ण थापाले बताए । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा र स्कुल स्कुलमा भलिवल खेल पुर्याउने लक्ष्य सहित उक्त प्रतियोगिता गरिएको प्रतियोगिताका सहसंयोजक लेखनाथ लम्सालले बताए ।
प्रतियोगितामा ५० बिद्यालयको सहभागिता हुने अपेक्षा गरिएको छ भने कक्षा १२ सम्मका कास्की जिल्ला भित्रका सामुदायिक विद्यालय विद्यार्थीहरु सहभागि हुन पाउने भएका छन्। केन्द्रले उक्त खेल संचालनको लागि ४ लाख रुपैयाको व्यबस्था गरेको जनाइएको छ ।
प्रतियोगितामा विजेता हुने छात्र तथा छात्रा दुबै टोलीलाई जनही १ लाख उपविजेतालाई ६० हजार र तृतीय हुने विद्यालयलाई ३५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको कास्की जिल्ला भलिवल संघ कास्कीका अध्यक्ष बिष्णु बहादुर गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट छात्र तथा छात्रा हुने खेलाडीलाई जनही ५ हजारको साथमा ट्रफी वितरण गरिने भएको छ । अन्य विधामा उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भरलाई जनही १ थान भलिबल प्रदान गरिने भएको छ भने उत्कृष्ट प्रशिक्षकलाई ५ हजार नगद प्रदान गरिने भएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करीब ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने ४ दिन चल्ने प्रतियोगिताबाट १२ लाख ५० हजार आम्दानी गरी १ लाख ५० हजार रुपैया बचत गर्ने लक्ष्य रहेको संयोजक मिन प्रसाद भट्टराईले बताए । बचत रकम भलिबल खेलकै विकास र विस्तारका लागि कोष खडा गरी जम्म गरिने र सृजना विकास केन्द्र द्वारा सञ्चालित बालगृहलाई समेत सहयोग गरिने भएको उनले बताए । २०३७ सालमा स्थापना भएको केन्द्रले स्थापना कालदेखि महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद, स्थानिय सरकारसंग साझेदारी कार्यक्रम सहितका कार्यक्रम गरिएको प्रतियोगिताका प्रचार संयोजक तथा केन्द्रका निवर्तमान अध्यक्ष इन्द्र पौडेलले बताए ।