मिडिया कप फुटसलको उपाधि पोखरा टेलिभिजनलाई

पोखरा, पुष २७
पोखरामा सम्पन्न मिडिया कप फुटसल प्रतियोगिताको उपाधि पोखरा टेलिभिजनले हात मार्दा रेडियो अन्नपूर्णले दोश्रो स्थान प्राप्त गरेको छ ।
रेडियो सराङ्गकोटको १६ औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित मिडियाकप फुटसलको उपाधिकर्ता पोखरा टेलिभिजनले नगद रु. ४० हजार, तथा दोश्रो भएको रेडियो अन्नपूर्णले नगद रु. २५ हजारका साथै शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी सौगात परियार, उत्कृष्ट गोलरक्षक प्रभात आचार्य र उत्कृष्ट गोलकर्ता विनोद पौडेल बने । प्रतियोगिताको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदको माध्यमले पत्रकारको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । वि.सं. २०६३ सालदेखि सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मार्फत सामाजिक उत्तरदायित्वका विविध रचनात्मक कार्यक्रमहरुको साथमा दोश्रो पटक मिडियाकप सम्पन्न गरिएको संस्थाका अध्यक्ष तथा रेडियोका कार्यकारी निर्देशक कृष्ण बहादुर थापाले बताए ।
रेडियोका प्रबन्ध निर्देशक अर्जुन बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा रेडियोका सल्लाहकार प्रेमबहादुर जि.सि., प्रायोजक संस्था एजुकेशन स्टडी लिंकका प्रमुख तथा रेडियोका निर्देशक रमेश कुमार थापा, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, उपाध्यक्ष सुरज श्रेष्ठ, पूर्व अध्यक्ष एकराज गिरी, रेडियोका निर्देशक राममणि पौडेल, चिन्तामणि बाँस्तोला, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्ल, रेडियोका स्टेशन प्रमुख योगेन्द्र श्रेष्ठ लगायतले आ आफ्ना धारणा राखेका थिए । कार्यक्रममा रेडियोका प्राविधिक सागर बाँस्तोला साथै मैत्रीपूर्ण खेलमा सहभागी महिला पत्रकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम अन्नपूर्ण केवलकार, एजुकेशनल स्टडि लिंक, कञ्चन कम्प्युटर, महाशिला आल्मुनियम, पोखरा महानगर खेलकुद समिति मुख्य सहयोगी रहेका थिए ।