अर्थ

तरकारी व्यापारले फेरियो महिलाको जीवनस्तर

जनकपुरधाम, ४ पुस (रासस) : केही वर्षअघिसम्म गाउँको साहुमहाजनमा बनिबुतो गरी परिवारको गुजारा गर्दै आउनुभएकी सप्तरी डाँक्नेश्वरी नगरपालिका–१ कबिलासाकी सुर्तीदेवी सदालाई आजभोलि बजारमा तरकारी पु¥याउन भ्याननभ्याइ छ । सामान्य लेखपढ गर्नसमेत नजानेकी स्ुर्तिदेवीलाई अहिले बिहान हुने बित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र गाउँ नजिकैको सहरमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ ।

दुई वर्षअघिसम्म रकमको आभावमा आयआर्जनको कुनै काम गर्न नसक्नुभएकी सदालाई अहिले भने तरकारी खरिद बिक्रीलाई आफ्नो आयआर्जनको राम्रो आधार बनाउनुभएको छ । आयआर्जनको गतिलो आधारसँगै उहाँको जीवनमा परिवर्तन मात्र होइन् परिवारको पहिचानसमेत फेरिएको छ । आयआर्जनको ठोस् आधार नपाउँदा केही वर्षअघिसम्म गाउँकै साहुमहाजन कहाँ हरवा चरवाको रुपमा बनिबुतो गर्दै आएको विगतको अतित सम्झिँदै उहाँले भन्नुभयो,“पहिले ज्याला मजदूरीमा सधँै काम गरेर जीविकोपार्जन गरिरहेको थिएँ, बालबच्चालाई पालनपोषण गर्न धौधौ हुन्थ्यो ।”

हरवाचरवाको रुपमा काम गर्दा मात्र तीन किलो धान मात्र ज्याला पाउथ्ये, त्यसकारण परिरवार चलाउन समस्या हुन्थ्यो । उहाँले भन्नुभयो,“तर अब मेरो त्यो दुःखको दिन हट्यो ।” अहिले तरकारी व्यापार गरेरै पाँच जनाको उहाँको परिवार चलेको छ । दुई वर्षदेखि तरकारीको व्यवसाय सुरु गर्नुभएकी उहाँले परिवारको गुजारा चलाउनु मात्रै होइन्, छोराछोरीलाई नजिकै विद्यालयमा पढाउँदै आउनुभएको छ । त्यति मात्रै होइन्, त्यही तरकारी व्यापारबाट १० धुर जग्गासमेत जोड्नुभएको छ ।

सधँै घरबाट निस्कन र बोल्न लजाउने स्वभावकी स्थानीय वसन्तीदेवी सदालाई पनि यतिबेला मौसम अनुसारको हरियो तरकारी खरिदबिक्री गर्न भ्याइनभ्याइ छ । श्रीमान्को मृत्युछि आर्थिक रुपमा कष्टपूर्णजीवन विताइरहनुभएका वसन्तीदेवीको तरकारी व्यापारबाट राम्रो आम्दानी हुन थालेसँगै जीवनयापन सहज बनेको छ ।

‘‘पतिको मृत्युपछि कसरी गुजारा गर्ने भन्ने चिन्ता थियो”, वसन्तीदेवीले भन्नुभयो,‘‘तर विगत दुई वर्षदेखि तरकारी व्यापार सुरु गरेपछि अहिले त्यो चिन्ता हटेको छ, राम्रो आम्दानी हुन थालेपछि आफ्नो दुःखको दिन टरेको महसुस भइरहेको छ ।”

समान्य घरायसी गर्जाे टार्न समेत साहु महाजनसँग ऋण माग्न बाध्य सोही ठाउँकी कुशेश्वरी सदाको त्यो समस्या टरेको छ । सुर्तिदेवी र वसन्तीदेवी जस्तै कुशेश्वरी सदा पनि तरकारीको व्यापार थालेपछि परिवारको गर्जाे टार्न साहुमहाजनसँग ऋण काट्नुपर्ने बाध्यता हटेको बताउनुहुन्छ ।

अशिक्षा र अज्ञानताका कारण आर्थिक विपन्ता झेल्दै आएका सो दलित बस्तीका महिलाको जीवनमा उनीहरुकै अग्रसरताबाट गठन भएको समूहबाट आएको हो । ‘‘स्ुरु सुरुमा म धेरै लजाउँथे, के गराँै नगरौँ भन्ने थाहै थिएन्, सधँै मजदूरी गरेर जेनतेन परिवार मात्रै पाल्थे”, कुशेश्वरीले भन्नुभयो,“तर, जब गाउँमा हरवाचरवा सशक्तीकरण कार्यक्रम अन्तर्गत यहाँका महिला समूह बनाएर बचत तथा ऋण गरे, तबदेखि मेरो जीवनमा परिवर्तन आयो ।”

‘द’ फ्रिड्म फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा सञ्चालित हरवारचवा सशक्तीकरण कार्यक्रम अन्तर्गत गठित महादेव हरवाचरवा बचत तथा ऋण समूहमा आवद्ध हुनुभएकी कुशेश्वरीले पाँच हजार अनुदान सहयोगमा दुईबर्ष अघिबाट तरकारी व्यापार सुरु गर्नुभएको छ । उहाँहरु राजविराज, सिरहाको लहान, गोलबजार, धनगढीमाई लगायतको बजारबाट सस्तोमा तरकारी खरिद गरी स्थानीय पातो, तरही, मधुवनी , ब्रहमपुरलगायतको बजारमा तरकारी व्यापार गर्दै आउनुभएको छ ।

“अहिले त्यही व्यापारबाट दैनिक तीन सय देखि एक हजारसम्म नाफा भइरहेको छ”, कुशेश्वरीदेवीले भन्नुभयो,‘‘तरकारी व्यापारबाट हुने कमाइले परिवारको गुजारा चलाउनेदेखि मासिक बचतसमेत गर्दै आएकी छु ।” व्यापार फस्टाउँदै गएपछि ऋण चुक्ता गएर समूहमै बचत गर्दै आएको उहाँको भनाइ छ ।

‘‘सुरु स्ुरुमा तरकारी व्यापार गर्न लाज लाग्दै थियो”, वसन्तीदेवीले भन्नुभयो,“तर केन्द्रले सञ्चालन गरेको हरवाचरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत साना व्यापारसम्बन्धी प्रशिक्षण लिएपछि विस्तारै मलाई पनि हिम्मत आयो र लाज मानेरै भए पनि तरकारी किनबेचलाई निरन्तरता दिँदै आएकी छु ।”

अहिले पति बैधनाथहित परिवाकारका सदस्यबाटसमेत व्यापारमा राम्रो साथ पाइरहेको उहाँले सुनाउनुभयो ।

तरकारी व्यापारका कारण अहिले साहुमहाजनको ऋणबाट मुक्तिबाट मात्र होइन् गरिबी जीवनबाटसमेत छुटकारा पाएको अनुभव हुँदै गएको सुर्तिदेवीको भनाइ छ । दलित बस्तीका महिलाको कामबाट आफुहरु उत्साहित भएको सुनाउँदै श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता नरेश सदाले भन्नुभयो,“ मैथिलीमा एउटा भनाइ छ, जेने करे कपार, से करे व्यापार (जे सम्भव छैन् भाग्यबाट त्यो सम्भव छ, व्यापारबाट) हो रहेछ, त्यो मैले महसुस गरेँ ।”

महादेव हरवाचरवा ऋण तथा बचत समहूमा दलित हरवाचरवा परिवारका ४३ जना आवद्ध रहेको समूहका अध्यक्ष कैलु सदाले बताउनुभयो । समूहमा आवद्ध महिला तथा पुरुष आफ्नो कमाइबाट भएको आम्दानीमध्ये मासिक रु ५० का दरले बचत गर्छन् । आर्थिक समस्यामा परेका सदस्यलाई बैठकबाट ऋण दिने र लगानी गर्ने गरेको उहाँको भनाइ छ । गत २०७८ सालमा गठन भएको सो बचत तथा ऋण समूहमा हाल रु १६ हजार बचत भएको र त्यसमध्ये रु १४ हजार समूहमा लगानी रहेको सचिव चन्द्रकान्त सदाले बताउनुभयो । निकट भविष्यमै सहकारीमा दर्ता गराउने तयारी गरेको छ ।—

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button