headlines

नवरात्रको चौथोे दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथोे दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथोे कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथोे देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ–‘कुत्सित ः ऊष्मा कुष्मा–त्रिविधतापयुत ः संसार ः, स अण्डे मांसपेश्यामुदररुपायां यस्या ः सा कुष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रुपमा चिनिनुहुन्छ ।

नवरात्रको पहिलो दिन असोज १० गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।

बडादसैँको चौथोे दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धीदात्रीको पूजा आराधना गर्ने गर्ने शास्त्रीय नियम छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button