समाचार

क्षमता अभिवृद्धि गर्न मन्टेश्वरी तालिम

तनहुँको व्यास नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा प्राध्यापनरत पूर्वप्राथमिक तहमा कार्यरत बालविकास सहजकर्ताको क्षमता अभिवृद्धि गर्न मन्टेश्वरी तालिम प्रदान गरिएको छ । बाल विकासका बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले सहजकर्तालाई तालिम प्रदान गरिएको हो ।

व्यास नगरपालिकाको शिक्षा, खेलकुद तथा सामाजिक विकास शाखाको आयोजनामा सहजकर्तालाई मन्टेश्वरी तालिम प्रदान गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । सिकाइ कलालाई अझ प्रभावकारी बनाइ बालबालिकालाई विद्यालय नियमित गराउन सहयोग पु¥याउने उद्देश्यका साथ तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।

बालविकासका सहजकर्ताको सिकाइ अभिवृद्धि गर्नसके बालबालिकालाई विद्यालयमा नियमित गराउन टेवा पुग्ने उहाँको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बालविकासका सहजकर्ताको क्षमता वृद्धि गराउनसके पूर्वप्राथमिक तहदेखि नै बालबालिका अनुशासित र नियमित गराउन प्रोत्साहन मिल्ने बताउनुभयो ।

प्रशिक्षक रिता घिमिरे तिमिल्सिनाले पूर्वप्राथमिक तहमा कार्यरत सहजकर्ताको क्षमता अभिवृद्धि भएमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुने बताउनुभयो । नगरपालिकाभित्रका सामुदायिक विद्यालयका ६९ सहजकर्ताको सहभागिता रहेको थियो ।

आफ्नो काखे बच्चासहित तालिममा सहभागी व्यास नगरपालिका–१३ स्थित गुदी फच्याङ आधारभूत विद्यालयकी सहजकर्ता सलिमा आलेले तालिम अत्यन्त प्रभावकारी रहेको बताउनुभयो ।

व्यास नगरपालिकाले नगर क्षेत्रलाई शैक्षिक हबको रुपमा विकास गर्ने उद्देश्यअनुरुप नै शिक्षा क्षेत्रको विकासमा जुटिरहेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button