headlines

सार्वजनिक सवारी साधनको व्यवस्थापनका लागि गण्डकी प्रदेशमै छुट्टै यातायात मन्त्रालय गठनको माग

गण्डकी ट्याक्सी व्यवसाय लिमिटेडले सार्वजनिक सवारी साधनको व्यवस्थापनका लागि गण्डकी प्रदेशमै शक्तिशाली यातायात प्राधिकरण र छुट्टै यातायात मन्त्रालय गठनको माग गरेको छ । संस्थाको चौथो वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमार्फत यी विषय उठाइएको हो ।

सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सदस्य सचिव अर्जुन पौडेलले गण्डकी प्रदेशभर सञ्चालित भाडाकारको व्यवस्थापन, सञ्चालन, संख्यात्मक नियन्त्रण र लगानी संरक्षणमा ध्यान दिन पनि प्रदेश सरकारको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

बढ्दो कर प्रणाली, कर हेरफेर, कर वृद्धि, ट्राफिक जरीवाना लगायत राज्यलाई तिर्नुपर्ने करका दायराहरुमा राज्यद्वारा एकलौटी ढंगले गरिरहेको उल्लेख गर्दै सदस्य सचिव पौडेलले यस विषयमा सरोकारवाला निकायको सहमति बिना यसअघिका करका दर बनढाउन तथा कर हेरफेर नगर्न माग गरे ।

प्रतिवेदनमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्र र बाहिरबाट भाडाकार (ट्याक्सी) सञ्चालन गर्न पाउनुपर्ने उल्लेख गर्दै यस विषयमा समन्वय गरिदिन सार्वजनिक यातायात केन्द्रीय महासंघसंग आग्रह गरिएको छ ।

साथै पोखरा र गण्डकी प्रदेशभरिमा सञ्चालित भाडाकारलाई एकतावद्ध बनाई प्रदेशभरि विस्थापन नीति लागू गरि गण्डकी प्रदेश भरि बाटो इजाजतपत्र (रुट परमिट) का लागि र स्वचालित भाडा समायोजन गर्न संस्थाले माग गरेको छ ।

साधारणसभा संस्थाका अध्यक्ष गान्धीराज गिरीको अध्यक्षतामा भएको छ । कार्यक्रममा यातायात व्यवसायी र मजदूर सम्बन्धित नेताहरुले यातायात व्यवसायी र मजदूरका समस्यामा विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । संस्थाको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिनेछ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button