headlines

फोनिज गण्डकीले जित्यो मैत्रीपूर्ण फुटसल उपाधि,मिडिया कप बेला बेलमा हुनुपर्नेमा जोड

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजना भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि आयोजक गण्डकी फोनिज जितेको छ ।

फोनिजको २३ औं स्थापना दिवस मनाउने क्रममा फोनिज गण्डकीले आयोजना र कास्की जिल्ला शाखाको सहआयोजनामा भएको पुरुष तथा महिला मैत्रीपूर्ण फुटसलमा दुवै खेलमा फोनिज विजयी भएको हो ।

पुरुष टिममा फोनिज गण्डकीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टिमलाई टाइब्रेकरमा ५-४ गोल अन्तर पराजित गरेको हो । महिलातर्फ फोनिज गण्डकीको टिमले कास्कीमा महिला पत्रकारको टिमलाई टाइब्रेकरमै ४-३ गोल अन्तर हराएको हो । पुरुषतर्फ निर्धारित समयमा ४-४ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

निर्धारित समयमा फोनिजको तर्फबाट प्रबिन मगरले दुई गरे भने सुशान्त गाहा र सुरज थापाले एक÷एक गोलको योगदान दिए । यस्तै खेलकुद पत्रकार मञ्चका लागि अनुप पौडेलले दुई तथा मन क्षेत्री र विजय नेपालीले एक÷एक गोल गरे ।

महिलातर्फ निर्धारित समयमा फोनिज गण्डकीबाट जुना थापाले पेनाल्टीमार्फत गोल गर्दा महिला पत्रकारको तर्फबाट दीपा पौडेलले बराबरी गोल फर्काइन् । दुवै टिमले निर्धारित समयमा बराबरी गोल गरेपछि खेलमा विजेताको टुंगो टाइब्रेकरबाट लागेको हो ।

विजेता फोनिज गण्डकीको टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टिमले मेडल र प्रमाणपत्र प्राप्त पर्यो । विजेता तथा उपविजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव तेजबहादुर गुरुङले पुरस्कार वितरण गरे ।

उक्त अवसरमा सचिव तेजबहादुर गुरुङले खेलकुद स्वास्थ्यका लागि लाभदायक भएको बताउँदै यसले आपसी भाईचारामा पनि वृद्धि हुने बताए । पत्रकारहरु लेख्ने मात्र होइन स्वस्थ्य हुनुपनि जरुरी रहेको मिडिया कप बेला बेलमा हुनुपर्नेमा उनको जोड थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button