headlines

पोखरामा वर्षाका कारण कतै पहिरो कतै डुबान, पहिरोले घर पुरिँदा एकजनाको मृत्यु

पोखरामा लगातारको ठूलो वर्षाका कारण कतै पहिरो गएको छ भने कतै डुबान भएको छ । पोखरा महानगरपालिका-१३ कमल पोखरी क्षेत्रका करिब एक सय घर डुबानमा परेको वडा अध्यक्ष किरण बरालले जानकारी दिनुभयो।
उहाँले गएराति १० बजेदेखि घरहरु डुबानमा पर्न थालेको र आफू रातभर डुबान क्षेत्रमा नै रहेको जानकारी दिनुभयो । ‘वर्षाको भलले निकास नपाउँदा डुबान भएको हो,’ वडा अध्यक्ष बरालले भन्नुभयो ।

यस्तै, पोखरा २९ सैनिक बस्तीमा पनि सडकमै खोला बगेको छ । सबैतिरबाट एकै ठाउँमा भल आएपछि डुबान भएको स्थानीय बासिन्दाले बताए ।
पोखरा–२१ को नाउडीमा पहिरो गइ सडक अवरुद्ध भएको छ ।

पोखरा महानगरपालिका–६, डिहिकोपाटन पँधेरोमा आज बिहान पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको भने एकजना घाइते भएका छन्।
अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

उनका अनुसार घटनामा घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१, भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते भएकी छन्। उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था मध्यम रहेको बताइन्छ।
घटनामा सुनिताको छोरी १० वर्षीया सिम्रन सुनार भने सकुशल रहेको प्रनाउ तिवारीले जानकारी दिए।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button