समाचार

स्याङ्जा जिल्लामा एक वर्षको अवधिमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता

स्याङ्जा जिल्लामा एक वर्षको अवधिमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८\७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फर्छ्योट भएका छन्।

जिल्ला अदालतको स्रेस्तेदार विश्वप्रसाद रेग्मीका अनुसार ९० मुद्दा फर्छ्योट हुन बाँकी छन् । अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मकरूपमा सम्बन्धविच्छेदका मुद्दा धेरै छन्। अघिल्लो आव २०७७\७८ मा तीन सय चार मुद्दा दर्ता भएकामा २४० फर्छ्योट भएका थिए । सो आवका ६४ मुद्दा गत आव २०७८\७९ मा जिम्मेवारी सरेर आएको रेग्मीले जानकारी दिनुभयो । तुलनात्मक रूपमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने क्रम बढेको छ।

‘अन्यको तुलनामा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी दर्ता भइरहेका छन्’, रेग्मीले भने, ‘यसको मुख्य कारण वैदेशिक रोजगारी र अन्य पारिवारिक समस्या हुन्।’ अदालतमा १३१ अंशबण्डाका मुद्दा दर्ता भएको कार्यालयका नायब सुब्बा एवं फिराद दर्ता शाखाका शोभाकान्त पौडेलले जानकारी दिए। पौडेलका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग, सञ्चारमाध्यम, आर्थिक अभाव, घरायसी समस्या, लागुऔषधले निम्त्याएको समस्या, घरेलु हिंसालगायतका कारणले सम्बन्धविच्छेदका घटना बढेका छन्।

‘वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग तथा घरायसी समस्याका कारण सम्बन्धविच्छेदका घटना बढेका छन्’, उनले भने, ‘सम्बन्धविच्छेदले पारिवारिक बेमेलसँगै बालबालिका अभिभावकविहीन बन्ने, समस्या देखिएको छ।’

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button