पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, देशभरबाट ४६ समूहको सहभागिता
कास्कीको पोखरामा आजदेखि ६ लाख पुरस्कार राशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ।
‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’ नारासहित कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त प्रतियोगिता गर्न लागेको हो। तीन दिनसम्म हुने उक्त प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुने टोलीले ६ लाख, द्वितीय हुनेले चार लाख, तृतीय हुनेले दुई लाख तथा सान्त्वना हुने समूहले एक लाख पुरस्कार पाउनेछन्।
उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई ५० हजारका दरले पुरस्कार प्रदान गरिने दाहालले जानकारी दिए। कार्यक्रमबाट ५५ लाख आम्दानी हुने आयोजक संस्थाले जनाएको छ।
एक समूहमा महिला र पुरुष एक÷एक गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकले नै गनुपर्ने छ। लोकगायक, स्रष्टा र शिल्पी कल्याण शेरचनको स्मरणमा उनको जन्मजयन्तीका अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ‘ह्योल्मो’ले बताए।
नेपाली लोकबाजाको संरक्षण, सम्बद्र्धन गर्न र शेरचनको प्रतिमा निर्माणको योजना प्रतिष्ठानले अघि सारेको छ। बचत रकमबाट लोकबाजा सङ्ग्रहालय स्थापना गरिने छ।
कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय एवं भाकाका गीत सङ्कलन र गायनका साथै नेपाली लोकगीत, नृत्य र संस्कृतिको विकासमा योगदान पुु¥याएका स्रष्टा शेरचनको २०६७ माघ २४ गते पोखरामा निधन भएको थियो।