पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
श्रीवास्तवले आचार्यलाई आइतबार साँझ पोखरामा भेटेका हुन्। भेटमा पोखरा र भारतका विभिन्न शहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको छ।
भारतीय शहरमा हवाइ उडान सञ्चालनका लागि नेपाल सरकार मार्फत पहल गर्ने र भारतमा वातावरण मिलाउन उहाँले राजदूत श्रीवास्तवलाई भेटमा आग्रह गरे। प्रमुख आचार्यले पोखरा र यस आसपासको विकास निर्माणमा भारतको तर्फबाट भएको सहयोगप्रति आभार प्रकट गर्दैैै पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी भइरहेकाले त्यसका लागि चाहिने ठूला पूर्वाधारका योजनामा भारतीय सहयोगको अपेक्षा गरे।
भेटका क्रमा श्रीवास्तवले आफूहरूले पोखरामा कुनै राम्रो परियोजनामा सहयोग गर्न चाहेको र नेपाल सरकारसँग यस विषयमा आवश्यक सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा रहेकाले भारतको बनारसलगायत विभिन्न शहरमा नियमित उडानमार्फत पोखरालाई भारतसँग जोड्ने चाहना रहेको भेटपछि प्रमुख आचार्यले सञ्चारकर्मीलाई जानकारी दिए।