समाचार
चितवनमा दुई सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुई सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौंबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौं गइरहेको लु२ख ३५०२ नम्बरको माइक्रो विंगर ठोक्किएका हुन्।
दुर्घटनामा घाइते भएका विंगरमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३५\३६ वर्षका एक पुरुषको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी दुवै सवारी साधनका १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
उनकाअनुसार घाइतेमध्ये विंगरका चालक २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर छ। घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।