सुदूरपश्चिममा राजमार्गहरू अवरुद्ध,तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पहिरोले सुदूरपश्चिममा राजमार्गहरू अवरुद्ध भएका छन्। बझाङ, बैतडी र दार्चुला जोड्ने सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।
बझाङको जालेबगरमा सेती नदीले कटान गर्दा राजमार्ग अवरुद्ध भएको हो। यस्तै, बैतडी र दार्चुलामा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ। उता दार्चुलाको शैल्यशिखरमा पर्ने नङतड, बैतडीको पाटनमा पर्ने थुम, सुर्नयाको भञ्ज्याङ भन्ने ठाउँमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
महाकाली र सेतीमा बहाव बढ्ने, सतर्क रहन आग्रह सुदूरपश्चिममा पर्ने महाकाली, सेती र कर्णाली नदीहरूमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। प्रदेशमा भारी वर्षा भइरहेकाले यी नदीसँगै अन्य साना नदीहरूको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले प्रदेशका ९ वटै जिल्ला आसपास भई बग्ने नदीहरूको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदीहरूका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।