पोखराको ‘एडभेन्चर’ को रूपमा रहेको ‘हट एयर बलुन’ भदौबाट फेरि सञ्चालन हुने
पोखराको ‘एडभेन्चर’ को रूपमा रहेको ‘हट एयर बलुन’ आगामी भदौबाट फेरि सञ्चालन हुने भएको छ।
२०७५ कात्तिकमा पोखराको पर्यटनमा टेवा दिने फरक स्वादको ‘एडभेन्चर’ को रूपमा ‘बलुन’ मा मान्छे राखेर उडाउने गरिएको भए पनि कोरोना सङ्क्रमणका कारण एकाएक बन्द गरिएको थियो। २०७६ चैत ११ गते देशव्यापी ‘लकडाउन’ भएपछि चैत १० गतेसम्म सञ्चालनमा रहेको ‘हट एयर बलुन’ पनि ‘लकडाउन’ सँगै बन्द भयो।
बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले ‘लकडाउन’ हटेसँगै ‘बलुन’ उडान शुरु गर्न पटक-पटक पोखरा आए पनि पर्यटकहरूको चहलपहल नै नरहेका कारण ‘बलुन’ उडानको काम गर्न नसकिएको बताए। ‘लकडाउन हुँदाको अघिल्लो दिनसम्म राम्रोसँग चलिरहेको बलुन चैत ११ गते बन्द गरिएको हो। बीचमा लकडाउन नभएको बेलामा बलुन शुरु गर्ने भनेर पटक-पटक पोखरा आएको भए पनि पर्यटक भएनन्,’ उनले भने, ‘पर्यटकहरूको अहिले धेरै चाप नभएसम्म सञ्चालनमा ल्याउन कठिन हुन्छ। अनि चलाएर बलुन थन्क्याउनु परेको अवस्थामा बलुनमा समस्या आएमा बाहिरको टोली ल्याउनुपर्छ।’
आउँदो ‘सेप्टेम्बर फर्स्ट’ अर्थात् भदौ १६ गतेबाट ‘बलुन’ शुरु गर्ने लक्ष्यका साथ विदेशी टोली ल्याएर ‘बलुन’ को मर्मत चलिरहेको छ। मध्य भदौबाट वर्षा पनि रोकिने हुनाले ‘बलुन’ र पर्यटकहरू सबैको लागि वातावरण उपयुक्त हुने भएकाले भदौलाई नै लक्षित गरेर ‘बलुन’ को मर्मत भइरहेको अध्यक्ष बाडेले बताए।