तनहुँमा बढ्दै ‘नैरोबी फ्लाई’ किराको प्रकोप

भारतको विभिन्न ठाउँमा फैलाइरहेको ‘नैरोबी फ्लाई’ को जोखिम तनहुँ जिल्लामा बढेको छ।
स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र बोनीटारले सूचना जारी गर्दै केही दिनदेखि तनहुँ आसपासका क्षेत्रमा ‘नैरोबी फ्लाई’ नामक किराको जोखिम बढेको बताएको छ। पछिल्लो समय ती क्षेत्रबाट उपचारका लागि आएका बिरामीको छालामा दाग, घाउ, जनै खटिरा जस्तो समस्या देखिएको र त्यसको मुख्य कारण ‘नैरोबी फ्लाई’ किराको एसिडका कारण भएको केन्द्रले बताएको छ।
दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.दिवस ढकालले पछिल्ला ३/४ दिनयता उक्त किराबाट प्रभावित भएका बिरामी आउने क्रम दैनिक रूपमा बढिरहेकोले तनहुँमा यसको प्रकोप बढिरहेको बताए ।
३/४ दिनदेखि दैनिक औसतमा ४र५जना बिरामी यो फ्लाईबाट प्रभावित भएर आउनुभएको पाइएको छ। यसको प्रकोप क्रमिक रूपमा बढिरहेको देख्न सकिन्छ’, थाहा खबरसँग कुरा गर्दै डा । ढकालले भने, ‘यसबाट प्रभावित हुनको लागि किराले टोक्ने होइन कि यसको शरीरमा रहेको एसिड हाम्रो छालामा पर्नासाथ यसको असर देखिन थाल्छ।’
भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूमा यो किराको प्रकोप देखिएकोमा बिस्तारै पहाडी क्षेत्रमा पनि यो किराको प्रभाव बढ्दै गएको हो। यो किरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपालमा फैलिने क्रममा रहेको केन्द्रले जनाएको छ।