headlines

स्याङ्जा जिल्ला समन्वय समितिमा गोलाप्रथा, प्रमुखमा कांग्रेस

स्याङ्जा जिल्ला समन्वय समिति (जिसस) मा गोलाप्रथाबाट नेतृत्व टुङ्ग्याइएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)ले सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्वको चयन गरेका हुन् । एघार स्थानीय तह रहेको स्याङ्जामा दुवै दलबाट ११÷११ जना निर्वाचित भएपछि प्रमुखसहित चारसदस्य र उपप्रमुखसहित पाँच सदस्य रहनेगरी गोलाप्रथा गरिएकामा प्रमुखसहित चार सदस्य कांग्रेसलाई र उपाध्यक्षसहित पाँच सदस्य एमालेलाई परेको हो ।

प्रमुखसहित चार सदस्य नेपाली कांग्रेसले पाउने भएपछि पार्टीको बैठकले निर्णय गरेर उम्मेदवार टुङ्ग्याएको कांग्रेस प्रवक्ता भरतराज लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली कांग्रेसले प्रमुखमा श्रीप्रसाद जिटीसहित सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाँणलाई सिफारिस गरेको छ ।पार्टीमा लामो समयसम्म सङ्घर्ष गरेको र पार्टीप्रति देखाइएको योगदानको कदर गर्दै समन्वय प्रमुखमा पठाउने निर्णय गरिएको प्रवक्ता लम्सालले जानकारी दिनुभयो ।

कांग्रेसका पूर्वजिल्ला सभापति, नेविसङ्घका संस्थापक सभापति रहनुभएका जिटीले प्रजातन्त्र स्थापनाका लागि पटकपटक जेल जीवन बिताउनुभएको थियो ।एमालेले उपप्रमुखसहित पाँच सदस्यको नाम टुङ्ग्याउनका लागि अहिले छलफलमा जुटेको पार्टीका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिनुभयो । पार्टीको शीर्ष नेतृत्व अहिले छलफलमा रहेकाले केहीबेरमा अन्तिम नामावली सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

जेठ ३१ गते जिससको निर्वाचन गर्ने गरी आज मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो ।
पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तहका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष गरी २२ जनाले मतदान गर्न पाउनेछन् । स्याङ्जाका ११ स्थानीय तहका ९७ वडाबाट निर्वाचित भएका नगर तथा गाउँसभाका सदस्य उम्मेदवार बन्न पाउनेछन् ।

एघार स्थानीय तहका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष गरी २२ जनामध्ये नेपाली कांग्रेसका ११ जना र नेकपा एमालेका ११ जना छन् । जिससमा दुवै राजनीतिक दलबाट ११÷११ जना अर्थात् सङ्ख्या बराबरी छ । जिससमा अध्यक्ष, उपाध्यक्ष, तीन महिला सदस्य, एक दलित वा अल्पसङ्ख्यक, तीन अन्यसदस्य गरी कूल नौ जना निर्वाचित हुनेछन् । जिल्लासभाका प्रमुख र उपप्रमुखमा जिससकै प्रमुख र उपप्रमुख रहने व्यवस्था छ । जिसस गठन भएसँगै जिल्लासभा गठन हुनेछ । जसमा नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख पदेन सदस्य रहनेछन् । यसअघि २०७४ को निर्वाचनबाट जिससको अध्यक्ष, उपाध्यक्षसहित सबै प्यानलमा नेकपा एमाले विजयी भएको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button