समाचार

नेपाली कला संस्कृतिलाई यसरी जोड्न सकिन्छ पर्यटक भित्र्याउने विशेष प्याकेजमा

नेपालका पर्यटन क्षेत्रको विकास र विस्तारका लागि नयाँ गन्तव्यको खोजी एवं प्रवद्र्धनमा विशेष जोड दिँदै कला संस्कृति, आथित्यता लगायतलाई विशेषरुपमा समावेश गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल विविधतामा एकता भएको देश भएकाले पनि पर्यटनका क्षेत्रलाई सोहीअनुसार विकास र विस्तार गर्नुपर्ने तथा पश्चिम नेपालको रारा, खप्तड जस्ता कम प्रवद्र्धन भएका नयाँ गन्तव्यको विकास गरिए त्यसले सकारात्मक प्रभाव पर्नेछ ।

काठमाडौँ, पोखरा, चितवन, जनकपुर, अन्पूर्ण सर्किट, रसुवा र सोलुखुम्बुमा मात्रै केन्द्रित रहेको पर्यटन गतिविधिलाई देशभर नै विस्तार गर्न सकिएको खण्डमा त्यसले पार्ने दीर्घकालीन प्रभाव आफैँमा महत्वपूर्ण हुने सरकारले नै गठन गरेको एक समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । धनुषा जिल्लाको रामजानकी मन्दिरलाई युनेस्केको विश्वसम्पदा सूचीमा सूचीकृत गर्न यसअघि नै प्रस्ताव गरिएको छ । विश्वव्यापीरुपमा हिन्दूका लागि मुख्य आकर्षणको केन्द्र रहेको सो मन्दिर र आसपासको क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत भएपछि ठूलो सङ्ख्यामा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

हिमाली क्षेत्रमा बढीभन्दा बढी पर्यटक आकर्षित गर्न आदिवासी, जनजाति, पर्वतीय महोत्सव यात्राको योजना १२ महिनाअगावै क्यालेन्डरमा राखेर उपयुक्त बजारीकरण गर्नुपर्नेमा जोड दिइएको छ । त्यसमा सोलुखुम्बुको मणि रिम्डु, मुस्ताङको तिजी, मनाङको यार्तुङ पर्व र ओलाङ्चोङ्गोलाको फुटुक महौत्व जस्ता हिमाली क्षेत्रका पर्व तथा चाडलाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्नुपर्ने सुझाव सरकारलाई दिइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अध्यक्षतामा गठन गरिएको राष्ट्रिय पर्यटन पुनरुत्थान समिति मातहतको प्राविधिक समितिले सरोकार भएका सबै वर्ग तथा क्षेत्रसँग लामो अन्तक्र्रिया गरी नेपालको सामाजिक पर्व तथा संस्कृतिलाई पनि पर्यटन क्षेत्रसँग जोड्नुपर्ने सुझाव दिएको छ ।

समितिले प्रमुख धार्मिक तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ, हलेसी, जनकपुर, पाथीभरा आदिलाई जोड्ने धार्मिक पर्यटन सर्किट, बौद्धनाथ, स्वयम्भुनाथ, नमोबुद्ध, मुक्तिनाथ र लुम्बिनी, हलेसी र बौद्ध जोड्ने सर्किटको पनि विकास गर्नु उपयुक्त हुने सुझाव दिइएको प्राविधिक समितिका संयोजक राजाराम गिरीको भनाइ छ । धार्मिक क्षेत्रलाई पर्यटनको विशेष सर्किट बनाउन सकिए त्यसले हिन्दू तथा बौद्ध धर्मावलम्बीलाई पनि आकर्षित गर्न सकिन्छ भन्ने समितिको ठहर छ । अनुसन्धान र योजनामा आधारित आदिवासीको जातिय खाना, पाक संस्कृति र आतिथ्यता पनि पर्यटनको अर्को प्याकेज हुनसक्ने देखिन्छ ।

यस्तै, प्रदान गरिएका स्पष्ट सङ्केतसहित, बेलनेस, योगा, स्पा सुविधाका लागि केन्द्र स्थापना गरी स्वास्थ्य पर्यटनको विकास गर्ने, बौद्ध मठमा ध्यान, ध्वनि उपचार र बौद्ध आध्यात्मिक अनुभवको सिर्जना पनि नेपालको पर्यटन बजारका विस्तारको अर्को महत्वपूर्ण खोज हुनसक्छ । पर्यटकको बसाइँ लम्ब्याउन र गुणस्तरीय पर्यटक भित्र्याउनका लागि लामा प्याकेजको प्रवद्र्धन गर्न सबै क्षेत्रमा उच्चस्तरीय पर्यटनलाई सुधार र विकास गर्नुपर्नेमा जोड दिइएको संयोजक गिरीले जानकारी दिनुभयो ।

मुस्ताङमा सवारी साधनको सहज र सुगम उपस्थितिले नेपालको पदयात्रा पर्यटनमा समस्या देखिएको छ । अन्नपूर्ण सर्किटको यात्रा एकाध दिनमा छोटिएको छ । यो अवस्थालाई मध्यनजर गरेर नयाँ र विद्यमान पर्यटन सम्बन्धित गतिविधिले यातायातलाई बाधा नपर्नेगरी उपयुक्तरुपमा अफ रोड स्थानको सुनिश्चित गर्नुपर्ने समितिको ठहर छ । सडक सञ्जालको विकासले स्थानीयस्तरमा सहज भए पनि वैदेशिक मुद्रा कमाउने क्षेत्र समस्यामा परेकाले केही स्थानमा भने अफ रोड पदयात्रा तथा पर्यटन केन्द्रित गतिविधि गर्ने गरी सडक निर्माण गर्न नहुनेमा जोड दिइएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button