समाचार

बुढेसकालमा सहाराविहीन ९६ वर्षीय थापा दम्पती

बेनी नगरपालिका–२ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र उहाँकी श्रीमती खिरकुमारी थापा साहारा विहीन बन्नुभएको छ ।

९६ वसन्त पार गरे पनि जीवनमा कहिल्यै सुखको महसुस गर्न नसक्नुभएका खड्गबहादुरले विरक्तिएर पटकपटक आत्महत्या गर्ने सोच बनाए पनि श्रीमती खिरकुमारीले नमानेपछि अहिलेसम्म बाँचेको सुनाउनुभयो । “बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,” उहाँले भन्नुभयो, “यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौँ भनेर श्रीमतीलाई भनेँ तर उनी मान्दैमानिनन् र अहिलेसम्म बाँचिएको छ ।”

बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो अनुहारमा देखिने ९६ वर्षीय थापाको मनभित्र पीडा र दुःखको खहरे नै गड्गडाइरहेको महसुस गर्न सकिन्छ । लट्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध, दही ल्याएर खाने गर्नुभएका थापाको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर सहाराको बन्धन (श्रीमती) आफूभन्दा पहिला छुट्लिन् (मृत्युहोला) कि भन्ने चिन्ताले थापा पिरोलिइरहनुहुन्छ ।

सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस (अन्न) । आफ्नै भाइको गोठमा बुढेसकालका दिनहरु बिताइरहनुभएका थापा दम्पतीका सन्तान छैनन् । विवाह भएर गएकी एउटी छोरी पनि मुख नबोल्ने (अपाङ्ता भएकी) छन् । बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरु दुर्गाबहादुर थापा र हिराबहादुर थापाले हेर्ने गर्नुहुन्छ । ३८ वर्षअघि २०४० सालमा आफ्नो छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ (पीडा) थपियो । त्यतिबेला त जेनतेन सहेर बस्नुभयो तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) उकुच बनेर चहराइरह्यो, दःुखी रह्यो ।

३८ वर्षअघिको अवस्था सम्झँदै थापाले भन्नुभयो, “घर पनि थियो, कमाई खान अलिअलि सम्पत्ति पनि थियो, तर छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदिएँ अनि झारेगैरा (तराई) गएँ, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आएँ, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौँ ।”

थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षा भत्ताको रकम पाउनुहुन्छ । सोही रकमले घरको केही खर्च चल्ने गर्दछ । “अहिलेसम्म बिरामी परेर उपचारका लागि खर्च गर्न परेको छैन, बिरामी पर्ने हो भने यो रकमले के भ्याउँथ्यो र,” थापाले भन्नुभयो । सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समयसमयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति अनि गाउँलेहरुबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ ।

उहाँकी श्रीमती खिरकुमारीले पनि ८० वसन्त पार गर्नुभएको छ । शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम श्रीमती खिरकुमारीले नै गर्नुहुन्छ । “शरीरमा थोरै तागत भएका बेला आफैँ काम गर्दै आएका छौँ,” खिरकुमारीले भन्नुभयो “बुढेसकालले छोपेपछि जीवन जिउन निकै सकस भएको छ । हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ ।” खिरकुमारीले गहभरि आँसु खसाल्दै भन्नुभयो, “निकै कष्टकर जीवन बिताउनु परेको छ । यस्तो कसैलाई पनि नपरोस् ।”

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button