त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो सुन र पाँच वटा मोबाइलसहित तीन जनापक्राउ

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याउन लागेको एक किलो १५५ ग्राम सुन र पाँच वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ ।
विमानस्थलको आगमन टनेल गेटबाट उनीहरुलाई एक किलो ५५ ग्राम कच्चा सुन, १०० ग्राम सुनका गहना र ५ वटा आईफोन मोबाइलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रौतहटको गौर नगरपालकिा–१०,सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुरको मनहरी–७ का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् ।
प्रहरीले साहको साथबाट चारवटा आइफोन १३ प्रो म्याक्स तथा एक–एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एक वटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ । यस्तै शेर्पाले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो ५५ ग्रामको सुन बरामद गरीएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
उनीहरुलाई थप अनुसन्धानको लागि बरामद सामानसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।