गठबन्धनका नेताहरूले प्रधानमन्त्री लाई ट्रयापमा पार्न खोजेका छन्ः डा. शेखर कोइराला
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन सार्ने प्रपञ्चले लोकतन्त्र नै धरापमा पर्न सक्ने खतरा औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग लामो कुराकानी गर्दै नेता डा. कोइरालाले भने, “संविधानको धारा र ऐनको दफामा त्रुटि देखाएर ५ जना नेताहरु निर्वाचन सार्ने कुरा गर्दै हुनुहुन्छ । वैशाखमा चुनाव गर्दा गठबन्धन संकटमा पर्छ भनेर लोकतन्त्रलाई संकट पार्न मिल्छ ? हामीले गठबन्धन जोगाउने कि लोकतन्त्र जोगाउने ? स्थानीय तहको निर्वाचन सारियो भने लोकतन्त्रको हत्या हुन सक्छ, मुलुकमा संकट आउन सक्छ, नेपाली कांग्रेस दुर्घटनामा पर्न सक्छ । लोकतन्त्र समाप्त गर्ने खेल नहोस् ।”
कांग्रेसकै केही नेताहरु र गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ट्रयापमा पार्न खोजेको आरोप पनि उनले लगाए । डा. कोइरालाले थपे, “कांग्रेसकै केही नेताहरु र गठबन्धनका नेताहरुले शेरबहादुरजीलाई ट्रयापमा पार्न खोज्दै हुनुहुन्छ । जालोमा फसेपछि गाह्रो हुन्छ नि। २०५९ सालमा उहाँ प्रधानमन्त्री रहेका बेला स्थानीय निर्वाचन गर्न नसक्दा राजा ज्ञानेन्द्रबाट कू मात्र भएन, १८ वर्षसम्म जनप्रतिनिधित्व नै हुन सकेन । सबैभन्दा पीडा त शेरबहादुरजीलाई होला । त्यति बुझ्नुभयो भने उहाँले वैशाखमै चुनाव गर्नुहुन्छ ।”
स्थानीय तहको निर्वाचनबाट राजनीतिक दलहरु नै डराउनु हास्यास्पद भएको उनको धारणा छ । उनले भने, “लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन हो । दलहरु नै निर्वाचनबाट डराउनु लोकतन्त्रको दुर्भाग्य हो । कसले जित्छ वा कसले हार्छ भन्दा पनि लोकतन्त्रले जित्छ कि जित्दैन ? त्यो प्रमुख कुरा हो ।”
डा. कोइरालाले संविधानमा भएको त्रुटिका निम्ति जनतासँग क्षमा पनि मागे । उनले भने, “संविधान लेख्ने पनि हामी नै हो, कानुन बनाउने पनि हामी नै हो । संविधानको मस्यौदा गर्दा गल्ती भएको छ, त्यसका लागि म देशबासीसँग क्षमा माग्छु । तर, त्यसलाई पक्डेर हामी कहाँ पुग्छौं ? समस्या संविधानमा छैन, ठूला नेताहरुको सोचमा छ ।”
सत्ता गठबन्धनका नेताहरुले संविधानविद्सँग सरसल्लाह नगरेकामा डा. कोइरालाले आश्चर्य प्रकट गरे । उनले भने, “सत्ता गठबन्धनका ५ जना बसेर आआफ्ना महान्यायाधिवक्ता र पूर्वमहान्यायाधिवक्तासँग सुझाव लिएको खबर पढेको छु । तिनले के सुझाव दिन्छन् ? ५ जना नेताहरुले जे चाहन्छन्, त्यही सुझाव दिन्छन् ।
संविधानले कर्मचारीले स्थानीय सरकार चलाउने परिकल्पना नै नगरेको कांग्रेस नेता डा. कोइरालाले औंल्याए । उनले भने, “वैशाखमा निर्वाचन गर्न किन डराएको ? संविधानको बहाना किन बनाउने ? देशवासीलाई जवाफ चाहिन्छ । वास्तवमा भन्ने हो भने कम्युनिस्ट नेताहरु स्थानीय निर्वाचन नै चाहनुहुन्न । किनभने उहाँहरुको पार्टी नै बनेको छैन । कम्युनिस्ट स्कुलिङमा इलेक्सन हुँदैन, सिलेक्सन मात्र हुन्छ । स्थानीय चुनावभन्दा अगाडि संसदीय चुनाव होस् भन्ने हाम्रो चाहना हुन सक्छ । तर लोकतन्त्रलाई बचाउने हो वैशाखमा स्थानीय तहको निर्वाचन अनिवार्य छ ।”