मौखिक आदेशका भरमा राज्य सञ्चालन गर्न खोजियाे

गत हप्तादेखि बतास अर्गनाईजेशनका विरुद्ध विभिन्न छापा तथा विद्युतीय सञ्चार माध्यम, अनलाइन र टेलिभिजनहरुमा प्रकाशन/प्रसारण भइरहेका समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकरणमा जे–जस्तो ढंगले एकांगी, मनोगत, भ्रामक र कपोकल्पित समाचारहरु प्रकाशित भएका छन्, ती विषयमा हालसम्म यस अर्गनाईजेशनका कुनै पनि जिम्मेवार व्यक्तिहरुलाई आधिकारिक रुपमा सम्पर्क गरेर सत्य/तथ्य बुझ्ने प्रयत्न ती सञ्चार माध्यमहरुले नगरेको हुनाले यो प्रेस विज्ञप्तिमार्फत तथ्य सार्वजनिक गर्नु परेको हो।
आम नेपाली नागरिकलाई भ्रामक सूचनाबाट मुक्त राख्दै सही सत्य समाचार पस्कनुपर्ने जिम्मेवारी र दायित्व कतिपय सञ्चार माध्यमले पूरा नगरेको हुनाले सो दायित्व पूरा गर्न यहाँहरुलाई सहज होस् भन्ने उद्देश्यले यो विज्ञप्ति सार्वजनिक गरिएको छ । कतिपय सञ्चारमाध्यमको पक्षपातपूर्ण हर्कतबाट नेपालका उद्यमी, व्यवसायी पीडित भएको यो पहिलो घटना होइन । त्यसैले बतास अर्गनाईजेशनले यस प्रकारका एकांगी, भ्रामक एवं पहिलो दृष्टिमा नै प्रायोजित देखिने त्यस्ता समाचार केही महिनायता र विशेष गरी गएको हप्तादेखि बतास अर्गनाईजेशन विरुद्ध प्रकाशन, प्रशारण भइरहेको घटनालाई अचम्मको विषयका रुपमा भने लिएको छैन ।
यो प्रेस विज्ञप्तिमार्फत नेपाली सञ्चार माध्यमहरुलाई पत्रकारिताको पाठ सिकाउने उद्देश्य विल्कुलै होइन । सो रुपमा बुझ्ने वा हाम्रो यो विज्ञप्तिलाई त्यसरी अर्थ्याउने काम नहोला भन्ने हाम्रो ठम्याइ हो । तथापि, पत्रकारिताका आफ्नै मूल्य, मान्यता, नैतिकता र धर्म हुन्छ । कानुनले नै निर्दिष्ट गरिदिएका आचारसंहिता र सीमाहरु छन् भन्ने कुरा स्मरण गराउँदा बतास अर्गनाईजेशनप्रति यहाँहरुले अन्यथा रुपमा लिनुहुने छैन भन्ने हाम्रो विश्वास छ।