अफगानिस्तानलाई नेपालको मानवीय सहयाेग

अफगानिस्तानी जनताका लागि बोकेर गएको सहायता सामग्री नेपाली टोलीले अफगानिस्तानलाई हस्तान्तरण गरेको छ।
परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानिस्तान गएको प्रतिनिधिमण्डलले सहायता सामग्री काबुलस्थित संयुक्त राष्ट्रसंघको प्रतिनिधिलाई हस्तान्तरण गरेको हो। नेपालले अफगानी जनतालाई आवश्यक औषधि, घरायसी सामग्री र लत्ता कपडा आज अफगानिस्तान लिएर गएको थियो।
अफगानिस्तानमा गत अगष्टमा तालिवानले सत्ता आफ्नो हातमा लिएपछि त्यहाँ आर्थिक तथा मानवीय संकट उत्पन्न भएको छ। अफगानिस्तानमा हाल खाद्यान्नको अभाव हुनुका साथै लाखौँ बालबालिकालाई कुषोषण हुन थालेको छ।
संयुक्त राष्ट्रसंघले नेपाल सरकारलाई अफगानिस्तानमा सहायता सामग्री पठाउन अनुरोध गरेको थियो। सोही अनुरोध अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघलगायतका निजी क्षेत्रहरुको अग्रसरतामा संकलन भएको सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान पुगेको हो। टोलीमा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधिका साथै पत्रकारहरुसमेतको सहभागिता रहेको छ।