समाचार

सम्झनामा यमबुद्ध

यमबुद्धको नामले चर्चित नेपाली र्‍यापर अनिल अधिकारीको निधन भएको पाँच वर्ष पुगेको छ। झण्डै डेढ दशक नेपाली हिपहप संगीतमा सक्रिय उनको पाँच वर्षअघि २९ वर्षको उमेरमा निधन भएको थियो।

नेपाली हिपहप संगीत आजको अवस्थासम्म ल्याउन अमूल्य योगदान दिएका उनलाई आज पनि लाखौँ श्रोताले सम्झिने गर्छन्। साथै यमबुद्ध अहिलेका चर्चित र्‍यापरहरूका आइडलका रूपमा पनि चिनिन्छन्।

यमबुद्धका ‘म फुट्छु तर झुक्दिनँ’, ‘आमा’, ‘हिंसाको कालो बादल’, ‘यो प्रसंग’, ‘फुटपाथ मेरो घर’ लगायतका गीत आज पनि चर्चित छन्। उनको सबैभन्दा चर्चित गीत भने ‘साथी’ हो।

दश वर्षअघि रेकर्ड भएको उक्त गीत आज पनि उत्तिकै बज्ने गर्छ। यमबुद्धलाई सम्झिँदा उनको ‘साथी’ गीत पनि सँगै आउने गर्छ। युट्युबमा २ करोड ७० लाख भन्दा बढी पटक हेरिएको गीतमा मित्रताको कथा रहेको छ।

लागुऔषध दुर्व्यसनीका बारेमा रहेको उक्त गीतमा बाल्यकालमा देखिने सामान्य जिज्ञासाले मान्छेको जिन्दगी नै कसरी परिवर्तन गर्न सक्छ र त्यसको व्यक्तिगत तथा सम्बन्धमा देखिने असरका बारेमा बताइएको छ।

लागुऔषध दुर्व्यसनीका कारण ज्यान गुमाएको साथीलाई सम्झिएको युवकको दृष्टिबिन्दुबाट गीत गाइएको छ।

यमबुद्धको अन्तिम गीत ‘मलामी’ हो। जसमा उनले चरम मानसिक तनावबाट गुज्रिरहेको पात्रको कथा भनेका छन्। उनको निधन पनि रहस्यमयी रूपले भएकाले धेरैले मलामीमा यमबुद्धको आफ्नै कथा रहेको मान्छन्।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस

Back to top button