पूर्वमाओवादीहरूको एकता सम्भव छैन : मोहन वैद्य

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरूसँग एकताको सम्भावना नरहेको बताएका छन्।
मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्वमाओवादी घटकहरूबिच एकताको सम्भावना नरहेको बताएका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहे पनि उक्त पार्टीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारे।
आफूहरूले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रूपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उनको तर्क थियो।
वैद्यले भने‚ ‘उहाँहरूले पूर्व माओवादीहरूसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्नुभएको छ तर हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी)सँग सम्भव छैन। माओवादी केन्द्रका साथीहरू संसदीय व्यवस्थाको असली संरक्षक हामी हौँ भन्ने हिसाबले गइरहनुभएको छ। त्यसकारणले उहाँहरूसँग एकताको सम्भावनै छैन।’
वैद्यले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताए। ती पार्टीहरूसँग पनि राजनीतिक लाइन नमिलेको उनको भनाइ छ।